
काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जुम्लामा फेरि अर्को निकृष्ट जातीय भेदभाव र छुवाछूतजन्य अपराध भएको बताएका छन् ।
‘सानो जाति’ भएर आफ्नी बहिनीसँग प्रेम विवाह गरेको रिसमा जुम्लास्थित तातोपानी गाउँपालिका–४, गिडीखोलाका २२ वर्षीय हिक्मत गिरीले आइतबार (असार १७ गते) स्थानीय २१ वर्षीय मुकेन्द्र नेपालीको घर जलाइदिएका हुन् ।
पीडित परिवारले उजुरी दिएपछि प्रहरीले गिरीलाई हिरासतमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । तर तीव्र गतिले प्रतिगमनतिर दौडिरहेको राज्य र राजनीतिको दोहोरो चरित्र हेर्दा यो अक्षम्य अपराध पनि केही दिनमा ढाकछोप र सामसुम हुने आशंका डा. भट्टराईले गरेका छन् ।
उक्त घटना एउटा दलित युवा र परिवारविरुद्ध गरिएको अपराध मात्र नभएर एक्काइसौँ शताब्दीको उन्नत चेतना, मूल्य÷मान्यता र मानवताविरुद्धकै अपराध भएको डा.भट्टराईको छ । उनले ट्वीटरमा भनेका छन्, ‘तीन हजार वर्षदेखिको शास्त्रको आड पाएको वर्णविभेदको जुन अमानवीय प्रणाली नेपाल र दक्षिण एसियामा जरो गाडेर बसेको छ, त्यसलाई समूल नष्ट गर्न दलित मात्र हैन, सम्पूर्ण मानवतावादी उन्नत चेतना भएका मानिसहरूको संयुक्त पहलमा अर्को एउटा क्रान्ति अनिवार्य भइसकेको छ ।’
दशवर्षे माओवादी सशस्त्र क्रान्तिका एक योद्धासमेत रहेका डा.भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतलक्षित कटाक्ष पनि गरेका छन् । ‘हिजो निरन्तर क्रान्तिको स्कुलिङ प्राप्त कण (कमरेड) हरू आज सत्तामा जो हुनुहुन्छ, उहाँहरूको निम्ति यो एक अग्निपरीक्षा हुनेछ,’ उनले भनेका छन् ।