News Griha :: न्यूजगृह
मौलिकता जोगाउन हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध : बालेन साह

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हनुमानढोका दरबार क्षेत्रको मौलिकता र सौन्दर्यको जगेर्ना गर्न सवारीसाधन प्रवेश निषेध गरिएको बताएका छन् ।

महानगरले केही दिन अघि  विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा सवारीसाधन प्रवेश गर्न नदिने बताएका थियो ।

मेयर साहले हनुमानढोका दरबार परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य बनाउन यसो गरिएको बताएका छन् ।

मेयर साहले मंगलबार फेसबुकमा लेखेका छन्,‘काठमाडौं मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौंको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायिकता अंगाल्न सक्ने भनेकै यिनै सम्पदा र यीनको प्राचिन मौलिकता पनि हुन् । यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् । वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ । यिनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ । यसैले हनुमानढोका परिसरभित्र सवारीसाधनहरुलाई निषेध गरिएको छ ।’

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०९:२६
Weather Update