
काठमाडौं— प्राचीन गुरुकुल परम्परादेखि सुरु भएको गुरु पूर्णिमा पर्व सोमबार गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइएको छ ।
प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन जस्तै आज पनि गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको हो । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ ।
ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–
गुरु ब्रह्मा गुरुविष्णु गुरुर्देवो महेश्वरः ।
गुरु साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम: ।।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।
गुरु पूर्णिमाका अवसरमा सोमबार विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरेका छन् ।
यस अवसरमा विश्व हिन्दू महासङ्घको कार्यालय बाँसबारीमा आयोजना गरिएको कार्यक्रममा गुरुको महत्त्वका बारेमा प्रकाश पारिएको थियो ।
यसैगरी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि सोमबार गुरु पूर्णिमाका अवसरमा कार्यक्रम आयोजना गरेको थियो ।
नेपाल महर्षि वैदिक फाउन्डेसनले दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्दनगरमा आयोजित कार्यक्रममा वैदिक गुरु परम्पराका गुरुप्रति सम्मानभाव प्रकट गरिएको थियो ।