
काठमाडौं— नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजले मौलिक संस्कृति र पहिचान भुल्दै गएको गुनासो गरेका छन् ।
भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले पछिल्लो समय नेपाली समाजमा सांस्कृतिक विचलन आउन थालेको भन्दै त्यसलाई सुधारेर राम्रा कुराको प्रचार हुनुपर्ने बताएका छन् ।
उनले भने, ‘मौलिक परम्पराभन्दा, सभ्यता र संस्कृतिभन्दा फरक हाम्रो आफ्नो पहिचान भन्दा फरक, मातृ देवो भवः, पितृ देवो भवः, गुरु देवो भवः भन्ने हाम्रो संस्कृति हो । आमालाई हामी स्वर्गभन्दा बढी आरदरणीय पूजनीय मान्छौँ । पितालाई त्यसैगरी मान्छौँ देव तुल्य । त्यस ठाउँमा अहिले अलि फरक संस्कृति आउन थालेको छ । गुरुलाई नमान्ने हेला गर्ने, बाआमालाई नमान्ने हेला गर्ने आदरभाव नदेखाउने यस्तो भाव बढेको छ ।’
यो प्रवृति गलत भएको बताएका उनले केही ठाउँमा यस्ता प्रवृति भए पनि त्यस्तो मात्रै छ भन्न नमिल्ने भन्दै त्यस्तालाई निरुत्साहित गर्नुपर्ने बताए ।शिक्षा भएर मात्रै केही नहुने तर, मति भ्रष्ट छ भने समाजका लागि घातक हुने उनकाे भनाइ छ । मानिसको लागि अरूका लागि कति गर्यो भन्ने प्रश्न ठूलो भएको बताए ।
उनले भने, ‘मति राम्रो हुनु सुमति हुनु सबैभन्दा ठुलो कुरा हो । पढाइ, देखाइ धेरै छ सर्टिफिकेट ठूलो छ । तर, मति भ्रष्ट छ राम्रो छैन भने त्यो दुनियाँका लागि पीडाको विषय बन्छ ।’
त्यस्तै, उनले आफूले देशका विभिन्न ठाउँको यात्रा गर्ने योजना बनाएको समेत बताए ।
उनले पश्चिमको झुलाघाटबाट सुरु गरेर पाँचथरको चिवा भञ्ज्याङसम्मको एक महिनाको यात्रा गर्ने र गाउँलेसँग अन्तरक्रिया गर्ने योजना बनाएको सुनाए ।