News Griha :: न्यूजगृह
हुम्लामा बाढीका कारण तीन घर क्षतिग्रस्त

हुम्ला— अविरल वर्षापछि आएको लेदोसहितको बाढीले यहाँका तीन घरमा क्षति पुर्‍याएको छ । नाम्खा गाउँपालिका–३ खगालगाउँका तीन घरमा लेदो सहितको बाढीले क्षति पुर्‍याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिए । 

सोमबार बिहान परेको भीषण वर्षापछि आएको बाढीले पेमा छिरिङ लामा, लुन्डुप रिञ्जिन लामा र छोईकी लामाको घरमा क्षति पुर्‍याएको हो । 

लेदो सहितको भल घरभित्र पसेपछि सामान, अन्नपात, भाँडाकुडा, लत्ताकपडालगायतका सामग्रीमा क्षति पुर्‍याएको उनको भनाइ छ । लुन्डुप रिन्जिन लामाको घरमा एकातर्फको पर्खाल भत्किएर घरभित्र लेदो पसेको थियो । 

बाढीले खेतीयोग्य जमिन र बालीमा समेत क्षति पुर्‍याएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । हाल प्रहरी घटनास्थलतर्फ गएको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने उनको भनाइ छ । रासस

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १६:१७
Weather Update