News Griha :: न्यूजगृह
चुरे संरक्षणमा शान्ति समाजको जोड

काठमाडौं— मानवअधिकार तथा शान्ति समाज केन्द्रीय कार्य समिति बैठकले चुरे संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।

यही असार १६ र १७ गते काठमाडौंमा सम्पन्न समाजको १५६औँ केन्द्रीय कार्यसमिति बैठकले ‘चुरे ध्वस्त पार्न पाइँदैन : मरुभूमिकरण गर्ने नीति चाहिँदैन’ भन्ने मूल नारासहित पर्सामा समाजको २६औँ राष्ट्रिय परिषद् बैठक राख्ने निर्णय गरेको महासचिव रेनुका पौडेलले सोमबार जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।  
 
बैठकअघि उक्त समाजका संस्थापक सभापति कृष्ण पहाडीले सङ्क्रमणकालीन न्याय प्रक्रिया र ठूला भ्रष्टाचारका घटनामा मुख्य दोषीलाई कारबाही नहुँदा नागरिकमा बढ्दो आक्रोशका साथै सरकार, सदन एवं सडकमा भएका गतिविधिबारे चर्चा गरेका थिए । बैठक अघि सुन्दरीजलस्थित वीपी सङ्ग्रहालय र जगडोलस्थित राष्ट्रिय शहीद तथा शान्ति पार्कमा वृक्षरोपण गरिएको थियो ।

एक दर्जन निर्णय गर्दै सम्पन्न बैठकमा समाजका कार्यवाहक सभापति कृष्णबहादुर रावलले अभियानका सम्बन्धमा, महासचिव पौडेलले सङ्गठन र कोषाध्यक्ष किरण ढकालले अर्थ सम्बन्धमा प्रारूप पत्र प्रस्तुत गरेका थिए । 

बैठकले उक्त संस्थाको केन्द्रीय कार्यालयमा कार्यरत कार्यक्रम अधिकृत सरिता पौडेललाई उपनिर्देशकमा र जनकप्रसाद भण्डारीलाई कार्यक्रम सहायकमा पदोन्नति गर्ने निर्णय गरेको थियो । रासस

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १३:२४
Weather Update