
काठमाडौं— प्रहरीले पछिल्लो दुई सातामा दुई करोड ३३ लाख बढी बजार मूल्य रहेको अवैध लागूऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ गतेदेखि आइतबारसम्म गरेको आठ वटा लागूऔषध विरुद्धकोअपरेसनमा उनीहरुलाई पक्राउ गरी ठूलो परिमाणको लागूऔषध बरामद गरेको हो ।
ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ पर्नेमा पाँच जना विदेशी छन् भने पाँच जना नेपाली रहेका छन् ।
उनीहरुका साथबाट कोकिन तीन दशमलव सात ग्राम, खैरो हेरोइन एक सय ग्राम, एम्फेटामाइन ४० दशमलव ५० ग्राम, चरेस सात किलो, गाँजा झन्डै पाँच किलो, कोडिन १६ बोतल र एलएसडी स्टिकर १० हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त लागूऔषधसहित विभिन्न स्थानबाट पक्राउ गरिएकामा राज गौतम, मुखिया गुरुङ, दावा तामाङ, नरबहादुर तामाङ, सुगम मैनाली, भारतीय नागरिक सञ्जीव कुमार र हेमन्तकुमार भगत तथा विभिन्न देशका नागरिकहरु डेभिड मिनाडो, मार्टिन शेर्ना र पवल वेष्र्ट रहेका छन् ।
उनीहरुमाथि अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।