
काठमाडौं—यस वर्षको वसन्त ऋतुका लागि सरकारले हिमाल आरोहण खुल्ला गरेको छ ।
मार्च १ (फागुन १७)देखि आरोहण अनुमति दिन सुरु गरिएको पर्यटन विभागले जानकारी दिएको छ । जसअनुसार अहिलेसम्म ६ वटा हिमाल आरोहणका लागि १२ वटा टोलीले अनुमति लिएका छन् ।
पर्यटन विभाग पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले सुर्मा सरोभर (६ हजार ५२३), अन्नपूर्ण प्रथम (आठ हजार ९१), पंगरी गोल्दुम्बा (६ हजार ६२०), मनास्लु (आठ हजार १६३), थोराङ पिक (६ हजार १४४) र सगरमाथा (आठ हजार ८४८.८६) हिमालको आरोहणका निम्ति अनुमति लिइएको छ ।
हिमाल आरोहण अनुमतिबाट सरकारले चार करोड ६८ लाख २१ हजार ३९० रुपैयाँ रोयल्टीबापत राजस्व संकलन समेत गरेको छ । आरोहण अनुमति लिनेमा अन्नपूर्ण प्रथममा चार वटा टोली रहेका छन् । उक्त चार वटा टोलीमा २८ पुरुष र १६ महिला गरी ४४ जना रहेका छन् । जसबापत सरकारले एक करोड ३९ लाख ७८ हजार २६० राजश्व संकलन गरेको छ ।
त्यस्तै मनास्लुमा तीन वटा टोलीले आरोहण अनुमति लिएका छन् । जसमा ६ पुरुष र दुई महिला गरी आठ जना छन् । सगरमाथामा अहिलेसम्म दुई वटा टोलीले आरोहण अनुमति लिएका छन् । उक्त दुई टोलीमा १५ पुरुष ६ महिला गरी २१ जना आरोही रहेका छन् । सगरमाथाको आरोहण अनुमतिबाट सरकारले तीन करोड ३७ लाख राजस्व संकलन गरेको छ ।
यसैगरी मनास्लु हिमाल आरोहणका लागि तीन टोलीमा ६ पुरुष र दुई महिला गरी आठ जना आरोही छन् । मनास्लु हिमाल आरोहण सबैभन्दा साहसिक हिमालका रूपमा लिइन्छ । मे महिनाभरि आरोहण अनुमति दिने विभागले जनाएको छ ।
यस वर्षको वसन्त ऋतुको आरोहणका लागि बाटो बनाउने काम एक हप्ताअघिदेखि सुरु भएको छ । सगरमाथा प्रदूषण नियन्त्रक कमिटी (एसपीसीसी)का कार्यकारी निर्देशक छिरिङ शेर्पाले आठ जना प्राविधिकसहित १० जनाको टोली खटिएका छन् । उक्त टोलीले आउँदो एक हप्तामा बाटो बनाउने काम पूरा गर्ने शेर्पाको भनाई छ ।
अहिलेसम्म टोली क्याम्प एकमा पुग्न नसकेको र खराब मौसमका कारण विगत वर्षमा भन्दा यस वर्ष समस्या भएको उनले बताए । उक्त टोलीले नै सगरमाथा आरोहणका लागि रुट निर्धारण गर्ने काम गर्छ ।
आरोहण अनुमति लिएका टोलीले पनि आरोहीलाई लिएर सगरमाथा बेस क्याम्पतर्फ प्रवेश गरेका छन् । नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष निमानोरु शेर्पा आरोहण अनुमति लिएका कम्पनीले सगरमाथा बेस क्याम्पमा सामान पुर्याउने काम सुरु गरेको जानकारी दिए ।













