News Griha :: न्यूजगृह
सङ्कटमा आरन पेसा

खलङ्गा— शैल्यशिखर नगरपालिका–६ पनेबाज बजार छेउमा जस्तापाताले बार लगाएको एउटा सानो छाप्रो छ । त्यही छाप्रोमा बिहानदेखि साँझसम्म दैनिक जसो भेटिन्छन् ७० वर्षीय पदमे लुहार । उनी एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहन्छन् । 

लुहार फलाम, सिल्भर र तामाका विभिन्न भाँडाकुँडा  बनाउँछन् । बुबा बाजेबाट भाँडाकुँडा बनाउन सिकेका उनले आरन व्यवसाय सञ्चालन गरेको ५२ वर्ष भयो । ‘यसै पेसाबाट जसोतासो घरखर्च चल्दै आएको छ,’ लुहारले भने । 

आरन पेसा अपनाउँदै आएका लुहार विगतमा निकै दुःख खेप्नु परेको बताउँछन् । केही वर्ष अघिसम्म फलामको काम गर्दा अन्न मात्र दिने गरेकामा पछिल्लो समय त्यसवापत उनले नगद पाउँछन् । यही पैसोले लुहारले छोराछोरीको लत्ताकपडा किन्ने गरेका छन् । ‘छोराहरूले यो पेसालाई अपनाउन चाहँदैनन्, अब पेसा सङ्कटमा पर्ने चिन्ता छ,’ उनी भन्छन् । 

‘आरन व्यवसाय सङ्कटमा परेको छ । बजार अभाव छ, त्यसैले आरन व्यवसाय गाउँघरबाटै हराउँदै गएको छ,’ स्थानीय दीपेन्द्र धामीले भने । परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग कम हुनुका साथै मेहनत गरेअनुसारको मूल्य नपाउँदा पनि यो पेसा बिस्तारै लोप हुँदै गएको छ । 

आरन व्यवसायी गङ्गराम लोहार यही पेसालाई आधुनिक ढङ्गले व्यावसायिक रूपमा अघि बढाउन सके स्थानीय स्रोतसाधनको प्रयोगबाटै गाउँघरमा रोजगारी सिर्जना गर्न सकिने बताउँछन् । ‘अहिलेका युवाको यो पेसाप्रति चासो छैन,’ उनले भने । 

पहिला–पहिला गाउँघरमा आरन व्यवसाय गर्नेको सङ्ख्या उल्लेख्य थियो । भाँडाकुँडा बनाउन कोइलाको प्रयोग गरिन्छ । अहिले दाउराको पनि अभाव हुन थालेको छ । स्थानीय गजेन्द्र लुहार भन्छन्, ‘मैले सानै उमेरदेखि बुबा र बाजेले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताले सिक्न चाहँदैनन्,  सिकेर खेर जाँदैन, यसबाट पनि पैसो कमाउन सकिन्छ ।’ आठ जनाको परिवारको खर्च आरन पेसाबाटै चलाएको लुहारले बताए । सरकारले आरन पेसा लोप हुन नदिन विभिन्न कार्यक्रम ल्याउनुपर्ने उनको माग छ । रासस

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १९:०३
Weather Update