News Griha :: न्यूजगृह
रूपन्देही, पाल्पा र नवलपुरमा भारी वर्षा, तिनाउ नदीले पार गर्‍यो खतराको तह

काठमाडौं—  तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार रूपन्देही, पाल्पा, नवलपुर र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले तिनाउ नदीमा बाढी आएको हो।

शनिबार बिहान ८ बजे तिनाउले खतराको तह पार गरेको हो। बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ६.८८ मिटर पुगेको छ।

महाशाखाका अनुसार जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ। तिनाउ नदीको जलसतह ६.८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले तिनाउले खतराको संकेत पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे जानकारी गराई सतर्क रहन भनिएको बताए। उनले तीन वटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको पनि बताए। 

 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  ०९:२४
Weather Update