
काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्ता गठबन्धनमा आवद्ध दलले पहिचानका नाममा आफ्नो पार्टीलाई ढुंगा हान्ने गरेको प्रति आश्चर्य लागेको बताएका छन् ।
शुक्रबार एमाले पार्टी कार्यालय च्यासलमा भएको ‘जनताको बहुदलीय जनवाद’ विचार गोष्ठीमा उनले प्रदेश सभाको दुई तिहाइ बहुमतले प्रदेशको नामाकरण गर्दा एमालेसहित, कांग्रेस र माओवादीले एकै ठाउँमा उभिएको बताए ।
उनले भने, ‘अहिले पनि कोशी प्रदेश नामाकरण के हुनुपर्ने कसो हुनुपर्ने त्यतातिर जान्नँ म तर कोशी प्रदेश राख्दा संविधानको व्यवस्था अनुसार नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रले सबैले एकै ठाउँमा भोट हाले । जम्मा चार भोट मात्रै त्यसको विपक्षमा पर्यो । चार भोट विपक्षी भएर कोशी प्रदेश नामाकरण भयो ।’
जनताले चाहे प्रदेशको नाम फेर्न सकिने बताउँदै उनले प्रदेशको नामाकरणमा अहिले एमालेप्रति ढुंगा हान्नु उचित नभएको धारणा राखे ।
‘पहिचानको ढुंगा कस्तो ढुंगा ? खाली एमालेको कार्यक्रममा मात्रै लाग्छ, एमालेका नेतालाई मात्रै लाग्छ । त्यो कस्तो खालको मोविल हो,एमालेमाथि मात्रै पोखिन्छ ।’