News Griha :: न्यूजगृह
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

चितवन— बिहीबार मध्याह्नदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै सडक एकतर्फी सञ्चालनमा आएको हो । साँझ ५ बजेदेखि एकतर्फी सवारी सञ्चालनमा आएसँगै केही बेरमा ढुङ्गासहित पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको थियो ।

सडक बन्द हुने र खुल्ने क्रम जारी रहेको छ । जिल्ला ट्रफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले ठूलो पहिरो पन्छाई सकिएको र खसेका पहिरो पन्छाउँदै सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताए ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार शुक्रबार बिहान ८:३० बजेदेखि दुवैतर्फबाट पहिरो पन्छाउने काम सुरु गरिएको थियो ।

narayangadha-road1688131057.jpg

बेलाबेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरिएको उनको भनाइ छ ।

दुई वटा एक्साभेटर र दुई वटा लोडरले पहिरो पन्छाउने काम गरिरहेका छ । सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन ।

सडक एकतर्फी सञ्चालनमा आए पनि सवारीको लामो लाइन भएकाले वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे ।

२४ घण्टाभन्दा बढी सडक अवरुद्ध हुँदा रोकिएका सवारी साधनका यात्रु गन्तव्यतर्फ लागेका छन् । उक्त सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत हुने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १८:५९
Weather Update