
काठमाडौं— राष्ट्रवादी केन्द्रनिकट ट्याक्सी तथा ट्रक व्यवसायीहरूले २० वर्ष पुराना सवारी साधन हटाउने सरकारी निर्णय खारेजीको माग गर्दै विरोध गरेका छन् ।
ट्रक, ट्रिपर, ट्याङ्कर, साना ढुवानी गाडी, ट्याक्सी, टेम्पो, नीलो माइक्रोलगायतका सवारी साधनमा आबद्ध मजदुरले बिहीबार काठमाडौंको सितापाईला चोकमा आफूहरूले काम गरेर खान पाउनु पर्ने भन्दै प्रर्दशन गरेका हुन् । सानू पुर्वाछाने मगरले भने, ‘राज्यको कर र नीतिभित्र व्यवसायी समेटिँदा पनि हामीलाई ठग र चोरको बिल्ला लगाइएको छ ।’
२० वर्षभन्दा बढी भएका सवारीसाधनलाई हटाउने भन्ने सरकारको निर्णय खारेज गर्नुपर्ने र काम गरेर खान पाउनु पर्ने उनीहरूको माग छ ।
ट्याक्सी व्यवसायी प्रेमबहादुर खड्काले यातायात व्यवसायको क्षेत्रमा धेरै समस्यामा सरकार मौन बसेको तर्क गरे ।
सरकारले आफ्ना समस्याहरूको समाधानमा कुनै पहल नगरेको उनको गुनासो छ । ‘ट्याक्सी व्यावसायीहरूलाई पार्किङको व्यवस्था छैन । मजस्तो मजदुरको लागि महानगरले व्यवस्थित गर्नुपर्छ । हरेक सपिङमल र हस्पिटल खोल्दा ट्याक्सी स्टयान्डको व्यवस्था गर्नुपर्छ । न्युरोडमा मान्छे झार्न पाएको छैन । लाइसेन्स निकाल भन्दै त्यहाँ प्रहरीको ज्यादती सुरु हुन्छ ।’