
काठमाडौं— पछिल्ला दिनमा एकपछि अर्को हवाई सुरक्षासँग जोडिएका घटना सार्वजनिक भइरहेका बेला नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण मुलुकको हवाई सुरक्षा सुदृढिकरणका लागि आक्रामक रूपमा प्रस्तुत भएको छ ।
स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीको उडानमा लापरबाही, हवाई सुरक्षा पालनामा देखिएको हेलचक्य्राइँलाई मध्यनजर गर्दै प्राधिकरणले हवाई सुरक्षामा विशेष चासो देखाएको हो ।
मुलुकमा बढ्दो हवाई सुरक्षामा देखिएका जोखिमीलाई मध्यनजर गरी प्राधिकरणले विभिन्न तवरले सुक्ष्म निगरानी बढाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
‘हवाई सुरक्षाका विषयमा प्राधिकरणले सुक्ष्म निगरानी गरिरहेको छ । हवाई सुरक्षामा लापरबाही गर्ने वायुसेवा कम्पनी र संलग्नलाई आवश्यक कारबाही पनि भइरहेको छ,’ उनले भने ।
हवाई क्षेत्रको ‘सेफ्टी’ र ‘सेक्युरिटी’प्रति सचेत हुँदै प्राधिकरणले उडान सुरक्षा उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याइरहेको प्रवक्ता निरौलाले उल्लेख गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन पटक–पटक निर्देशन पनि दिँदै आएका छन् ।
शनिबार पत्रकारसँगको अन्तरक्रियामा पनि उनले हवाई सुरक्षाप्रति कुनै किसिमको कमिकमजोरी हुन नदिन आफूले सम्बन्धित निकायका अधिकारीलाई बारम्बार ध्यानाकर्षण गराइरहेको बताएका थिए ।
यसैबीच प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) सँग आकाशमै ठोकिनबाट जोगिएको एअर इण्डियाको जहाजको सम्बन्धमा छानबिन गर्ने भएको छ । प्राधिकरणले उक्त घटनामा संलग्न एअरलाइन्समाथि छानबिन गरिने प्राधिकरणका प्रवक्ता निरौलाले बताए ।
गत शुक्रबार नेपाल एअरलाइन्सको जहाज मलेसियाको क्वालालम्पुरबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थल आउँदै थियो । सोही समय दिल्लीबाट काठमाडौंका लागि उडेको एअर इण्डियाको जहाज १९ हजारको फिटको उचाइबाट उडिरहेको थियो । एअर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना नै एअर इण्डियाको जहाज एक्कासि १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एअरलाइन्सको जहाजसँग झन्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एअरलाइन्सले उडान केही फिट डाउन गरेकाले दुर्घटना हुनबाट बचेको थियो ।
उनका अनुसार उक्त घटनाप्रति प्राधिकरणको ध्यानाकर्षण भएको र घटनामा एअर इण्डियाका तर्फबाट देखिएको लापरबाहीका सम्बन्धमा छानबिन गर्न एक समिति गठन गरिएको छ ।
जतिसक्दो छिटो अध्ययन गरी प्रतिवेदन पेस गर्न उक्त समितिलाई निर्देशन दिइएको छ । यसअघि फागुन १५ गते पनि कतारको दोहाबाट काठमाडौं आउँदै गरेको कतार एअरवेज र मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एअरलाइन्सको जहाज आकाशमै ठोकिनबाट बचेका थिए । उक्त घटनामा आन्तरिक उडानमा रहेको बुद्ध एअरको जहाज पनि जोखिएको थियो ।
यही चैत्र ९ गते प्राधिकरणले काठमाडौं–लुक्ला उडानका क्रममा टावरमा रहेका एअर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अपशब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई निलम्बन गरेको थियो । त्यसैगरी उडान सुरक्षा मापदण्ड उल्लंघन गर्ने थप दुई हेलिकप्टर कम्पनी क्रमशः एअर डाइनेस्टी र फिस्टेल एअरका पाइलटलाई पनि निलम्बन गरिएको थियो ।
यसअघि यही चैत्र ७ गते प्राधिकरणले वायुसेवा निगमको ट्वीनओटर जहाजका चालकदलसहित सात जनालाई निलम्बन गरेको थियो । ताप्लेजुङबाट काठमाडौंका लागि उडान भरेको निगमको नाइन एन एबीटी बिमानमा लोड सिट क्षमताभन्दा एक सय पाँच केजी बढी सामान बोकेको सूचना पाएपछि प्राधिकरणले जाँच गर्दा कागजमा देखाइएको भन्दा बढी तौल भेटिएकाले उडान अनुशासन पालना नगर्ने जहाजका चालकदलका सदस्यसहित बिमान ग्राउण्डेड गरिएको प्राधिकरणले उल्लेख गरेको छ ।
चालक दलका तीन सदस्य, निगमका मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई निलम्बन गर्नाका साथै घटनाबारे आवश्यक छानबिन गरिने प्राधिकरणले जनाएको छ । त्यसैगरी गत फागुन २५ गते काठमाडौंबाट भैरहवा उडेको श्री एअरलाइन्सको जहाजको इञ्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको थियो ।
श्री एअरलाइन्सको उडान नं.८२१ को जहाजको इञ्जिनमा ‘फायर वर्निङ’ देखिएपछि बिचबाटै डाइभर्ट गरेर काठमाडौंमा आकस्मिक अवतरण गरिएको हो । घटनालगत्तै प्राधिकरणले उक्त एअरएयरलाइन्सका उडानमा रहेका सबै जहाज एक दिन ग्राउण्डेड गरी जाँच गराएपछि भोलिपल्ट जहाज पुनः उडानका लागि अनुमति दिएको थियो ।
यसरी हवाई सुरक्षा पालनामा लापरबाही गर्ने र आचरण विपरीत काम गर्ने बिमान कम्पनी र संलग्न पाइलटलाई कानुनी दायरामा ल्याउन प्राधिकरण आक्रामकरूपमा प्रस्तुत भएको हो । मुलुकको हवाई सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उडान सुरक्षालाई सुदृढ र प्रभावकारी तुल्याउन लागि परेको प्राधिकरणले जनाएको छ ।