किसानलाई अनुदानमा कृषि उपकरण

जानकी— बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरिएको हो । ‘किसानलाई कृषि उब्जनी गर्न सहज होस् भन्ने उद्येश्यले कृषि यन्त्र अनुदानमा वितरण गरेका हौँ,’ उनले भने ।
आर्थिक विकास समितिका संयोजक एवं वडा नं ४ का वडाध्यक्ष प्रेमबहादुर शाहीका अनुसार ३१ किसानलाई मिनिटेलर र ११ किसानलाई पावर टेलर वितरण गरिएको छ । पालिकाले किसानलाई अनुदान दिने निर्णय गरेअनुरुप उक्त कार्यक्रम कार्यान्वयनका लागि आवेदन आह्वान गरको थियो । निवेदन दर्ता गराएका किसानको घर–घरमा पुगेर अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसान छनोट गरिएको थियो । रासस
प्रकाशित मिति: बिहीबार, असार १४, २०८० ११:२५