News Griha :: न्यूजगृह
एपीएफ आपत्तिमा परेका नागरिकको भरोसा बन्नुपर्छ : महानिरीक्षक अर्याल

काठमाडौं— सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी आपत्तिमा परेका नागरिकको भरोसा बन्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा बुधबार सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा महानिरीक्षक अर्यालले भिन्नाभिन्नै भूगोलमा बसेका नेपाली नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सशस्त्र प्रहरीले कुनै कसर बाँकी राख्न नहुने बताए ।

उनले राज्यप्रदत्त जिम्मेवारीका साथ नागरिकको सेवा र सुरक्षामा परिचालित रहन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिँदै मानवअधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण परिपालना गरी सामाजिक र पदीय आचरण विपरित गतिविधिमा नलागी आफूलाई एउटा अब्बल अधिकृतको रुपमा परिचित गराउनेतर्फ लाग्नुपर्नेसमेत बताए ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीको त्याग, तपस्या र बलिदानको अनुकरणीय भूमिका रहेको स्मरण पनि गरे ।

नयाँ जोश र ऊर्जाका साथ दीक्षित भई कार्य क्षेत्रमा खटिई जान लागेका सशस्त्र प्रहरी सहायक निरीक्षकको आगमनसँगै सङ्गठनले अझ बढी उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास लिएको अर्यालले बताए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्रीले साधारण नगारिकबाट फौजी जीवनमा प्रवेश गराउन आधारभूत तालिम अपरिहार्य रहेको बताउँदै प्रशिक्षार्थीलाई तालिममा सिकाईएका सैद्धान्तिक एवम् व्यवहारिक अभ्यासबाट योग्य, सक्षम र इमान्दार अधिकृत उत्पादन गर्नमा टेवा पुग्ने बताए ।

४६ हप्ता अवधिको उक्त आधारभूत तालिम १५ जना महिलासहित कूल एक सय २० जना सशस्त्र प्रहरी सहायक निरीक्षक सहभागी थिए ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  २१:३७
Weather Update