News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार

असार १३ गते बुधबार संसदबाट आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको विषय र ललिता निवास जग्गा प्रकरणमा समातिएका ४ जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको समाचार नै मुख्य बने । त्यसैगरी नेकपा एमालेले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको संसद् अवरोध, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संसदमा सम्बोधन, रास्वपाका सभापति रवि लामिछाने विरुद्धको रिट निवेदन खारेजी जस्ता समाचार बुधबार मुख्य बनेका छन् ।त्यसैगरी जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहने अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्टीकरण दिएका छन् । साथै  राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएको समाचार पनि मुख्य नै बनेको छ ।

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज बुधबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—

०००

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुनुपर्ने माग दाबीसहित परेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाइएको रिट निवेदन खारेज गरेको हो । युवराज सफलले लामिछाने दोस्रोपटक समेत सांसद हुन अयोग्य भएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा.आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउन र सपना प्रधान मल्लको इजलासले दावी नपुग्ने भन्दै रिट निवेदन खारेज गरेको हो ।

०००

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले आगामी आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म सबै स्थानीय तहमा स्वास्थ्य बीमा सेवा सुचारु हुने बताएका छन् । बुधबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले  स्वास्थ्य बीमा स्वायत्त निकाय भए पनि अहिलेसम्म स्वायत्त रुपमा सञ्चालन हुन नसकेको बताए ।

०००

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरुलाई स्वास्थ्य बीमा नदिने बताएका छन् । बुधबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले  निजी अस्पताल र मेडिकल कलेजहरुलाई स्वास्थ्य बीमा नदिन धारणा बनाइसकेको बताए । उनले स्वास्थ्य बीमा सही ढंगबाट सञ्चालन हुन नसकेको बताए ।

०००

बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गालाई व्यक्तिको कायम गर्ने क्रममा भएको कीर्तेमा हदम्याद नलाग्ने नेपाल प्रहरीले दाबी गरेको छ । बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पत्रकार सम्मेलन गरी नयाँ मुलुकी ऐन जारी हुनु अघिकै अवस्थाको कानूनका आधारमा मुद्दा दायर हुने बताएको हो । पुरानो कानुनअनुसार मुद्दा चलाउँदा हदम्याद नलाग्ने प्रावधान रहेको प्रहरीको भनाइ छ ।

०००

राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रममा देखापरेका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति प्रकाश पन्थले स्वास्थ्य बीमा कार्यक्रमा देखापरेका नीतिगत, व्यवस्थापकीय समस्या समाधान गरी गुणस्तरीय स्वास्थ्य सेवा, औषधि, आपूर्ति तथा उपचार प्रक्रिया सरल बनाइ दक्ष जनशक्तिको व्यवस्था गरी सबै स्थानीय तहहरुमा पहुँच बिस्तार गर्न सरकारलाई निर्देशन दिए ।

०००

सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट (आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक) पारित भएको छ । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा मतदान हुँदा बहुमतसहित आगामी आर्थिक वर्षको बजेट पारित भएको हो । आगामी आर्थिक वर्षको बजेट पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४७ मत परेको थियो भने विपक्षमा १०८ मत परेको थियो । प्रतिनिधिसभामा उपस्थिति २५५ जना सदस्यहरु रहेका थिए । प्रस्तावको पक्षमा बहुमत भएकाले सो प्रस्ताव पारित गरिएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

०००

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार विरुद्धको लडाइँ अझै नरोकिने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दे  बुधबार प्रतिनिधि सभा बैठकमा उनले वर्षोदेखि डुंगुरको रुपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरुविरुद्धको लडाइँ नरोकिने बताएका हुन् ।

०००

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले स्पष्टीकरण लिनुपर्ने माग गरेका छन् ।  बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सो प्रकरणमा मुछिएका मन्त्रीहरु र अन्य कर्मचारीहरुलाई पनि संसदको सार्वजनिक लेखा समितिले स्पष्टिकरण लिन उपयुक्त हुने बताए । सांसद सुवालले सरकारी जग्गा बेचविखनमा संलग्नहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताए ।    

०००

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको बताएका छन् । बुधबार प्रतिनिधि सभामा मतदानमार्फत बजेट पारित भएलगत्तै उनले  सञ्चारकर्मीमाझ सो प्रतिक्रिया व्यक्त गरेका हुन् । अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा पुगेको देखिएको बताए ।  एमालेको माग अनुसार बजेट पारित गर्नका लागि प्रतिनिधिसभा बैठकमा मतदान भएको थियो ।

०००

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरेको बताएका छन् । बुधबार प्रतिनिधि सभाबाट बजेट पारित भएसँगै सञ्चारकमीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले आफूहरुले राखेको कुरामा अर्थमन्त्रीले सुधार गर्ने भनेपछि अर्थमन्त्रीको कुरा ग्रहण गर्दै बजेट पारित गरेको बताए ।

०००

जिल्ला निर्वाचन कार्यालयहरु यथावत् रहने भएका छन् ।  बजेट पारित गर्नुअघि बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरु यथावत् रहने जानकारी गराएका हुन् । उनले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको अनुसूची १६ को खण्ड (क) को क्रमसंख्या १० मा रहेको प्रावधान हटाएर हाल कायम रहेको जिल्ला निर्वाचन कार्यालय सम्बन्धी हाल कायम रहेको व्यवस्थालाई नै यथावत् राखिने बताए ।

 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १९:४८
Weather Update