News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेपाली शान्ति सैनिक : मिसनमा अब्बल, नेतृत्व गर्न वञ्चित
तस्बिर साैजन्य : नेपाली सेना ।

काठमाडौं— बंगलादेशको औपचारिक भ्रमण पूरा गरी संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जँ पियर लाक्वाँ असार १२ गते (मंगलबार)देखि चार दिने नेपालमा भ्रमणमा छन् । 

राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यमा शान्ति सेना पठाउने मुलुकमा बंगलादेशपछि नेपाल दोस्रो स्थानमा पर्छ । उपमहासचिव लाक्वाँको भ्रमणलाई कूटनीतिक हिसाबले अर्थपूर्ण मानिएको छ । दुई सातामा राष्ट्रसङ्घको शान्ति मिसनका सदस्य राष्ट्रहरू हेर्ने दुई वरिष्ठ अधिकारीले नेपालको भ्रमण गर्नुलाई महत्वपूर्ण रूपमा हेरिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । उनी भन्छन्, ‘शान्ति मिसनमा सेना खटाउनेमा हामी दोस्रो छौँ । दुई साताको बीचमा नै राष्ट्रसङ्घका महत्वपूर्ण पदाधिकारीको भ्रमण हुनु भनेको नेपाललाई महत्व दिएको भनेर बुझ्नुपर्छ ।’ 

nepalarmyunpeacemissionshantisena-5-1687949250.jpg

Prabhu Bank

जुन ११ मा राष्ट्रसङ्घको अपरेशनल सहयोगको लागि उपमहासचिव अतुल खरेले नेपालको भ्रमण गरेका थिए । उनले नेपाली सेनाको आयोजनामा गरिएको दक्षिण एसियाकै पहिलो सातौँ शान्ति स्थापनार्थ गोष्ठीमा प्रविधिको साझेदारी कार्यक्रममा सहभागिता जनाएका थिए । उनको भ्रमणको दुई साता नपुग्दै राष्ट्रसङ्घको शान्ति मिसनका अर्का उपमहासचिव नेपाल आएका हुन् । 

शान्ति मिसन : महिला सहभागितामा नेपाल पहिलो 

हाल नेपालले विश्वभरि १३ वटा शान्ति मिसनमा ६ हजार ५२९ सैनिक तैनाथ गरेको छ । जसमा ५२९ महिला सैनिक छन् । शान्ति मिसनमा महिला सहभागितामा नेपाल पहिलो स्थानमा पर्छ । राष्ट्रसङ्घको शान्ति नीति बनाउनेमा पनि नेपालले महत्वपूर्ण भूमिका खेलेको प्रवक्ता भण्डारीको भनाइ छ । भन्छन्, ‘महिला सैनिकलाई तैनाथ गरिएको मिसन इलाका लैङ्गिकमैत्री भएन । बासस्थान र सुरक्षाका कुरालाई लिएर नेपालले चासो व्यक्त गर्ने बित्तिकै त्यसमा परिवर्तन आयो । यसरी पोलिसीमा हेरफेर हुनु भनेको हाम्रो भूमिका देखिनु हो ।’

nepalarmyunpeacemissionshantisena-3-1687949250.jpg

 

सेनाले शान्ति कार्य तालिम केन्द्र पाँचखालमा नवीकरणीय ऊर्जाको रूपमा सौर्य ऊर्जा प्रयोग गरेको छ । त्यही मोडल यूएनमा पाइलट प्रोजेक्टको रूपमा सुरु गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले स्वच्छ वातावरणको लागि मिसनमा सौर्य ऊर्जा प्रयोगमा ल्याएको हो । नतिजा राम्रो निस्किए राष्ट्रसङ्घले अन्य मिसनमा पनि उक्त शैली अपनाउने बताइएको छ । लाक्वाँको भ्रमणमा नेपाली शान्ति सैनिकले मिसन इलाकामा देखाएको उच्च अनुशासन, साहस र प्रयोग गरेका प्रविधिको बारेमा पनि चर्चा हुनसक्ने विश्लेषकहरू बताउँछन् । 

armychiefprabhuramsharmawithunundersecretary1687862045.jpg
प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घका शान्ति कार्य (पिस अपरेसन) सम्बन्धी उपमहासचिव जँ पियर लाक्वाँ । 

यति मात्र होइन, राष्ट्रसङ्घको केही शान्ति मिसनमा नेपाली शान्ति सैनिक नेतृत्वदायी भूमिकामा पनि देखिएका छन् । सिरियामा तैनाथ शान्ति मिसनमा खटिएको सैन्य टोलीलाई उपरथी निर्मलकुमार थापा फोर्स कमाण्डरको रूपमा र लेबननमा तैनाथ टोलीलाई सहायक रथी चोकबहादुर ढकालले डेपुटी फोर्स कमाण्डरको रूपमा नेतृत्व गरिरहेका छन् । यसका अलवा महासेनानीहरू पनि शान्ति मिसनमा नेतृत्वदायी भूमिकामा खटिएका छन् । 

nepalarmyunpeacemissionshantisena-4-1687949250.jpg

सजिला मात्र होइन, अप्ठ्यारा तथा जटिल प्रकारका मिसनमा पनि नेपाली शान्ति सैनिक खटाइएका छन् । नेपाली शान्ति सैनिकले उल्लेखनीय काम गरेकाले नेपाली सेनाको उच्च प्रशंसा हुने गरेको प्रवक्ता भण्डारी बताउँछन् । भन्छन्, ‘केही समयअघि दक्षिण सुडानमा त्यहाँ तैनाथ अन्य राष्ट्रसङ्घको सदस्य राष्ट्रको फौजले शान्ति स्थापनार्थ काम गर्न नसकेपछि भागाभागको स्थिति भयो । नजिकै रहेको नेपाली शान्ति सैनिक टोलीले त्यहाँ शान्ति सुरक्षा कायम गर्‍यो ।’ 

Mr Jean Pierre Lacroix-tia1687945404.JPG

नेतृत्व कहिले?

सन् १९५५ मा राष्ट्रसङ्घको सदस्य बनेपछि नै नेपालले राष्ट्रसङ्घ संलग्न अप्ठ्यारा शान्ति मिसनहरूमा सहभागिता जनाउँदै आएको छ । त्यसमा अहिलेसम्म ७२ जना नेपाली सिपाहीले सहादत प्राप्त गरिसकेका छन् भने ६६ जना घाइते भएका छन् । नेपालले राष्ट्रसङ्घलाई आवश्यक परेमा १० हजार सैनिक तत्परताका साथ खटाउन सक्छ । हालसम्म राष्ट्रसङ्घको ५५ मिसनमा एक लाख ४५ हजार ३५६ शान्ति सैनिकले सहभागिता जनाइसकेका छन् । तर, जति मात्रामा नेपालले राष्ट्रसङ्घमा शान्ति सैनिक खटाएको छ, त्यो हिसाबले अहिलेसम्म शान्ति मिसनको उच्चस्तरमा नेतृत्व गर्न पाएको छैन । शान्ति स्थापनार्थ कार्यमा उदाहरणीय काम गरेको नेपालले उच्चस्तरीय भूमिकामा नेतृत्व गर्नबाट किन वञ्चित भइरहेको छ, त्यसबारेमा परराष्ट्र मन्त्रालयले बेलाबेलामा प्रश्न उठाउने गरेको छ । 

nepalarmyunpeacemissionshantisena-2-1687949251.jpg

भ्रमणमा उपमहासचिव लाक्वाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरसँग भेटवार्ता गरेका छन् । उनले परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेट्ने तालिका छ । सो भेटमा नेपाली शान्ति सैनिकले नेतृत्व गर्न पाउनु पर्ने विषयमा छलफल हुनसक्ने विश्लेषकहरू बताउँछन् । 

यस्तै, लाक्वाँको भ्रमणसँगै यूएन शान्ति सेना मिसनमा पठाउनेको सङ्ख्या अझ बढ्न सक्छ कि भन्ने जिज्ञासामा प्रवक्ता भण्डारी भन्छन्, ‘त्यस्तो सङ्ख्या बढ्ने भन्ने कुरा होइन । यूएनले चाहेमा नेपालले तत्परताका साथ ६० दिनभित्र फौजको बन्दोबस्त गरिदिन्छ । अहिले १० हजारको प्रतिबद्धता हो ।’ .

nepalarmyunpeacemissionshantisena-6-1687949250.jpg

विश्वका कठिनभन्दा कठिन मिसनमा नेपाली टोली परिचालन हुने गरेको छ । यूएनले शान्ति सैनिक तैनाथ गरेको सबै स्थानमा नेपाली मिसन टोली खटिएको छ । दक्षिण सुडान, माली, लिबिया, कङ्गो केही मुलुकहरू हुन्, जहाँ नेपाली टोलीले शान्ति स्थापनार्थ कार्य गर्दै आएका छन् । 

जुन २५–२६ मा उपमहासचिव लाक्वाँ बंगलादेशको ढाकामा थिए । लाक्वाँको सो भ्रमण मुख्यतया २०२३ को डिसेम्बरमा घानामा हुन लागेको राष्ट्रसङ्घ शान्ति स्थापना मन्त्रीस्तरीय बैठकको तयारीको लागि थियो । उक्त कार्यक्रममा क्यानडा र उरुग्वे सहित बंगलादेश सह–आयोजक थियो । 

यसअघि सन् २०१८ मा लाँक्वा नेपाल भ्रमणमा आएका थिए । उनले राष्ट्रसङ्घीय शान्ति अभियानमा उच्च दक्षता र अनुशासनका साथ सहभागी भएकोमा नेपाल सरकारलाई धन्यवाद दिएका थिए । सो भ्रमणमा दुवै पक्षले शान्ति सेनाको सुरक्षा, महिला सहभागितामा अभिवृद्धि, यौन शोषण र दुर्व्यवहारको मुद्दालाई सम्बोधन गर्ने र सेना तथा प्रहरी योगदान गर्ने देशहरूलाई निष्पक्ष र समान अवसर प्रदान गर्नेलगायत शान्ति स्थापनासम्बन्धी विभिन्न मुद्दाहरूमा पनि छलफल भएको थियो । 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १७:३१
Weather Update