News Griha :: न्यूजगृह
पूर्वी नेपालको कोसेली निगुरो

बेलबारी— शहरी क्षेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ । अर्ग्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ । 

मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत  सामुदायिक वनमा निगुरो टिप्न बिहानैदेखि साँझसम्म स्थानीयको भिड लाग्छ । सयौँ परिवारको गुजारा निगुरो टिपेरै चलेको छ । राजमार्ग आवतजावत गर्ने यात्रुको कोसेलीको रोजाइमा परेको छ यहाँको निगुरो ।

बेलबारी–१० भाउन्नेकी आच्छामाया राई ६८ वर्ष पुगिसकेकी छन् । तर, उनले दैनिक ३० देखि ४० मुठासम्म निगुरो टिप्दै आएकी छन् । निगुरो रु २५ मा प्रतिमुठा बेच्ने गरेको राई बताउँछिन् । उनीजस्तै सयौँ महिलाले यस क्षेत्रमा निगुरो टिपेरै आम्दानी गरिराखेका छन् । 

भाउन्नेमा विगत २८ वर्षदेखि निगुरोको व्यापार गर्दै आएकी भद्रमाया भट्टराईका अनुसार केही वर्ष अघिसम्म अहिलेको जस्तो निगुरो काठमाडौं पठाइन्नथ्यो । ‘बजारको खोजीमा इटहरी, दमक, बिर्तामोडसम्म पुर्‍याउनुपर्थ्यो । तर, अहिले अरूले टिपेर ल्याएको निगुरो हामीले सङ्कलन गर्छौँ र हामीबाट काठमाडौंका व्यापारीले किनेर लैजान्छन्,’ भद्रमाया भन्छिन् । 

यस क्षेत्रबाट दैनिक निगुरो राजधानीलगायत अन्य शहरमा बिक्रीका लागि लैजाने गरेका लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन् । वार्षिक झण्डै रु एक करोडभन्दा बढीको निगुरो यहाँबाट बिक्रीका लागि लैजाने गरिएको छ । मोरङमा एक सय ३४ सामुदायिक वन छन् । पथरी, बेलबारी, कानेपोखरी र सुन्दरहरैँचाका सामुदायिक वनमा धेरै मात्रामा निगुरो पाइन्छ । 

जिल्ला वन कार्यालय मोरङका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरे निगुरोसम्बन्धी कार्यक्रम सामुदायिक वनको कार्ययोजनामै राख्न लगाउने बताउँछन् । चैत दोस्रो हप्तादेखि जङ्गलमा टिप्न मिल्ने निगुरो असोज अन्तिमसम्म टिप्न सकिन्छ । तर, यो वर्ष निगुरो सुक्खा खडेरीले गर्दा वैशाखसम्म पलाउन सकेको थिएन । 

कृषिविज्ञ डा. राजेन्द्र उप्रेतीका अनुसार निगुरो एक उन्यू प्रजातिको वनस्पति भएकाले यसले चिस्यान क्षेत्र रोज्ने गरेको र त्यस क्षेत्रमा मात्र राम्ररी फस्टाउँछ । समयमा पानी नपरेर जमिन सुक्खा हुँदै गएमा निगुरो मासिन सक्ने डा. उप्रेती बताउँछन् । निगुरोमा प्रोटिन, भिटामिन, क्याल्सियमलगायत पोषकतत्व पाइन्छ । रासस

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १०:५४
Weather Update