News Griha :: न्यूजगृह
पाँचथरको हेवाखोलाको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएपछि मेची राजमार्ग पुनः अवरुद्ध

पाँचथर— मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मंगलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गएराति आएको बाढीले क्षति पुर्‍याएपछि यातायात पुनः अवरुद्ध बनेको हो ।

हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । बाढीले डाइभर्सनमा क्षति पुर्‍याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए  ।

प्रहरीले यातायात अवरुद्ध भएकाले मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्डमा सवारी सञ्चालन नगर्न सबैमा सचेतसमेत गराएको छ । यही असार २ गते राति आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलास्थित सडक पुल बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

यातायात अवरुद्ध भएपछि चार दिनको प्रयासमा डाइभर्सन निर्माण गरी मंगलबारदेखि पुनः सञ्चालनमा ल्याइएको थियो । पानीको बहाव घटेपछि गएराति १० बजेसम्म राजमार्ग सञ्चालन भएको थियो । प्रहरीले जोखिमलाई ध्यानमा राख्दै गए रातिदेखि डाइभर्सनबाट सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०८:२१
Weather Update