News Griha :: न्यूजगृह
करोडौं रुपैयाँ र सुनका गरगहना गठी आरोपमा ‘धर्मगुरु’ पक्राउ

काठमाडौं— नारी शक्तिको जागरण गराउने भन्दै पीडितबाट करिब पाँच करोड र एक सय तोलाभन्दा बढी सुन तथा सुनका गरगहना ठगी गरेको अभियोगमा पुरुषोत्तम काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ ।

दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ गठ्ठाघर बस्ने ४८ वर्षीय ‘शिवसुत गौरी भक्त’ भन्ने काफ्लेलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई कञ्चनपुर गड्डाचौकीबाट पक्राउ गरी काठमाडौं ल्याएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

काफ्लेसमेतले काठमाडौंस्थित हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोली पीडितलाई रकम लगानी गर्न अभिप्रेरित गराउने, सेमिनार गरी संस्थाको सदस्य बनाउने,धेरै मुनाफाको प्रलोभन देखाउने गरेको पाइएको छ ।

उनीहरूले लगानीको सुनिश्चितता नगरी पटक–पटक थप लगानी गर्न दबाब दिने र नगरेमा परिवारको सदस्यलाई मार्नेजस्ता धम्की दिई ठगी गरेको भनी प्रहरीमा उजुरी नै परेको थियो ।

उनीउपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौं बबरमहलबाट सात दिन म्याद लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०५:५९
Weather Update