News Griha :: न्यूजगृह
सडक दुर्घटनामा बाबुछोरीको मृत्यु, आमाछोरा सहित पाँच घाइते 

दमक— पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित सडक खण्डमा मंगलबार सडक दुर्घटनामा परेर बाबुछोरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–९ भालुखोलास्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र १–०२–००१क ३८७९ नं को ट्रक र विपरीत दिशाबाट गइरहेको प्र १–०१–००च ७४८२ नंको कार एकापसमा ठक्कर खाँदा कार चालक मोरङको उर्लाबारी–६ का ४५ वर्षीय गुरुचन चौधरी र सोही कारमा सवार उनकी छोरी १८ वर्षीया कुमकुमको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते दुवैको उपचारका क्रममा विर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको हो । 

दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । घाइते हुनेमा मृतककी श्रीमती ४० वर्षीया सुजिता, छोरा १० वर्षीय विवेक, ३६ वर्षीया रञ्जुदेवी चौधरी, रतुवामाई १० का १९ वर्षीय रिकेश न्यौपाने र उर्लाबारी–७ की ४० वर्षीया मुना शाह रहेका छन् । उनीहरुको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । परिवार र आफन्तसहित उनीहरू विवाहमा सहभागी भइ घर फर्किँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १७:१५
Weather Update