
काठमाडौं— कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्री भुसालले हाल देशभरका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरूमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेको जानकारी दिए । ‘चालु आर्थिक वर्षको लक्ष्य अनुसार कुल ४ लाख ७८ हजार ५०० मेट्रिक टन रासायनिक मल खरिदको सम्पूर्ण प्रक्रिया समयमै सम्पन्न गरिएको छ । त्यसमध्ये ३ लाख ५१ हजार मेट्रिक टन आयात भइ बिक्री वितरण भइरहेको छ,’ उनले भने ।
उनले असार महिनाको अन्त्यसम्ममा थप ४५ हजार मेट्रिक टन र श्रावण महिनाभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने पनि बताए । मन्त्री भुसालले आगामी आर्थिक वर्षको लागि रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ रकम सुनिश्चित गरिएको बताए ।
मन्त्री भुसालले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले सम्भव भएसम्मका कामहरू अगाडि बढाएको बताए ।
उनले हालसम्म ६ लाख ११ हजार २०९ पशु संक्रमित भएका र संक्रमित मध्ये २१ हजार ४७३ पशुको मृत्यु भइसकेको जानकारी दिए ।
उनले ३ लाख ५४ हजार ५७३ पशु लम्पिस्किन रोगबाट निको भइसकेका र २ लाख ३५ हजार २१९ पशु अझै पनि संक्रमित अवस्थामा रहेका बताए ।
उनले लम्पिस्किन रोगको खोप जोर्डन, तान्जनिया र टर्कीबाट आयात गरिरहेको जानकारी दिए । उनले हालसम्म ७ लाख ३७ हजार डोज खोप ल्याइएको र असार १० गतेसम्म १ लाख ६२ हजार ३७१ पशुलाई खोप लगाइएको उल्लेख गरे ।