News Griha :: न्यूजगृह
काठमाडौंका स्ववासीहरूलाई लालपुर्जा दिन प्रक्रिया अगाडि बढाइएको छ : भूमि व्यवस्थामन्त्री श्रेष्ठ

काठमाडौं— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौंका स्ववासीहरूलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया अगाडि बढाइएको बताएकी छन् । 

मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्री श्रेष्ठले काठमाडौंमा कमैया जीवन बिताउन बाध्य धेरै मूलवासी नेवारहरू रहेका भन्दै उनीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको बताइन् । 

‘तराईमा कमैया प्रथा उन्मुलन भएको २३ वर्ष भयो तर, सुन्दा पनि अचम्म लाग्छ । यद्यपि काठमाडौंमा पनि कमैयाको जीवन बिताउने मूलवासी नेवारहरू धेरै छन् । काठमाडौंमा धेरै स्ववासीको घरको लालपुर्जा छैन । अब हाम्रो लक्ष्य ति स्ववासीलाई घरको लालपुर्जा दिनु पनि हो,’ उनले भनिन् । 

उनले भूमिहीनहरूलाई जग्गाको लालपुर्जा दिन राष्ट्रिय भूमि आयोगले ७७ वटै जिल्लाका काम गरिरहेको पनि जानकारी दिइन् । 

मन्त्री श्रेष्ठले सहकारी पीडितहरू आन्दोलित भइरहेको सन्दर्भमा सरकारको ध्यानाकर्षण भएको बताइन् । उनले गरिब घर, परिवार पहिचान गरी परिचयपत्र वितरण गरिने पनि जानकारी दिइन् । 

उनले सहकारी संस्थाहरूलाई दिगो र बलियो बनाउनका लागि विस्तृत अध्ययन र अनुसन्धानको प्रक्रिया अगाडि बढेको बताइन् । 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १५:००
Weather Update