काठमाडौं— नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको आन्तरिक शुद्धिकरण आफ्नो कार्यकालको मुख्य प्राथमिकता रहेको बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आज कार्यभार सम्हालेपछि आयोजित विशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सङ्गठनको श्रीवृद्धिमा लग्ने अठोट व्यक्त गरे । प्रहरीसामु समस्याका चाङहरू रहेको, सङ्गठनको दुर्वल र सबल पक्षहरूलाई सामूहिक रूपमा पहिचान गरी त्यसका निदानका उपायहरू अवलम्बन गर्नुको टड्कारो आवश्यकता रहेको पनि उनले बताए ।
प्रहरी महानिरीक्षक कुँवरले नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन नसक्ने र यसका लागि सामूहिक प्रयास र प्रतिबद्धता खाँचो रहेको औँल्याए । व्यावसायिकता, पारदर्शिता एवम् आर्थिक अनुशासन कायम राख्दै सभ्य तथा शिष्ट तवरबाट नागरिकलाई प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारी उनले निर्देशन पनि दिए ।
नेपाल प्रहरी नागरिक प्रशासनको सबैभन्दा संवेदनशील संस्था भएको, सङ्गठन सदैव जनमुखी, पारदर्शी र कानुनले निर्देशित गरेको मूल्य मान्यताका आधारमा सञ्चालित हुनुको अर्को विकल्प नभएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले मानवअधिकारको सम्मान, विधिको शासन र नागरिक सर्वोच्चताको अवधारणाअनुरूप नेपालको संविधान, प्रचलित ऐन–कानुनहरु र नेपाल सरकारको नीति निर्देशनबमोजिम परिचालित हुनु नेपाल प्रहरीको मूल दायित्व रहेको बताए ।