काठ लिन जंगल गएका एक व्यक्ति मृत फेला

गोरखा— काठ लिन जंगल गएका बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङ मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले घरबाट आइतबार जंगलमा काठ लिन भनेर गएका गुरुङ नफर्किएपछि खोजी गर्ने क्रममा अमलेस्थित जंगलमा सोमबार मृतावस्थामा फेला परेको बताए ।
‘परिवारका सदस्यसहित स्थानीयवासी मिलेर खोजी गर्ने क्रममा वडा नं ७ स्थित अमलेको जंगलमा रहेको बिखुरे भीरमा गुरुङको शव भेटिएको हो’,लामिछानेले भने,‘घटनाको प्रकृति हेर्दा भीरबाट लडेर ज्यान गएको देखिन्छ ।’
मृतकको शव उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
गुरुङ काठ लिएर फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको लामिछाने बताए ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० ०७:४७