News Griha :: न्यूजगृह
प्रेमको नाटक गरी विदेशी नागरिक बनेर साढे आठ लाख ठगी

काठमाडौं— एक महिलाले विदेशी नागरिक बनेर आठ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेकी छिन् । प्रेम गर्छु भन्दै फसाएर रकम ठगी गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–८ बस्ने ४० वर्षीया चण्डिका पोखरेल भएको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सामाजिक सञ्जालबाट चिनजान गरी मन पराउँछु, माया गर्छु र नेपाल आएर बिहे गरी विदेश लैजान्छु भन्दै रकम ठगी गरेको पाइएको छ ।

त्यसरी विश्वासमा पारी पहिलो चरणमा सामान ‘पार्सल’ पठाएको छु भनी त्यसका लागि विभिन्न शुल्क लाग्ने र यसका लागि रकम बुझाउनुपर्ने भन्दै विभिन्न व्यक्तिको नाममा पैसा पठाउन लगाएर ठगी गरेको पाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

‘सुरुमा त्यसरी जाहेरी आएपछि यस्तो विदेशी नागरिक को रहेछ भनेर अनुसन्धान गर्दै जाँदा विदेशीको नाम राखेर ठगी गर्ने ललितपुरकी महिला भएको पहिचान भयो,’उनले भने ।

सुरुमा उनले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ह्वाट्सएप चलाउने व्यक्तिहरूलाई सम्पर्क गर्ने र आफू बेलायतको एल्भिस मार्टिन भएको बताउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

प्रहरीका अनुसार ती महिलाले पीडितलाई फोटो पठाउन लगाई ‘तिमीलाई मन पराउँछु, माया गर्छु’ भनी सम्पर्क गर्थिन् । त्यस्तै उनले ‘नेपालमा आएर तिमीलाई विवाह गरी लैजान्छु,सुनका गरगहना, घडी, आइफोन डलरसहितको लगेज पठाइदिएको छु’ भनेर पीडितलाई विश्वासमा पार्ने गरेको प्रहरीले जनाएको छ ।

उनले पीडितलाई प्रलोभनमा पारी विदेशी जस्तो देखिने नम्बरमार्फत कुराकानी गरी विश्वास जितेपछि सामान पठाइदिएको र सामान पाउन भन्सार, डलर चार्जबापतको रकम लाग्ने भन्दै विभिन्न व्यक्तिको खातामा पैसा पठाउन लगाउने गरेको खुलेको छ ।

उनले पटक—पटक गरी जम्मा आठ लाख ४० हजार रुपैयाँ पठाउन लगाएपछि ठगिएको थाहा पाई पीडित प्रहरीमा आइपुगेका हुन् । उनलाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरबाट अहिले आवश्यक अनुसन्धान एवम् कारबाही थालिएको छ ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  २१:४०
Weather Update