
काठमाडौं— अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बसोबास गर्ने राजा चौधरी समेतका व्यक्तिहरूले वान एक्स बेटबाहेक अन्य विभिन्न अनलाइन क्यासिनो गेम (जुवा) हरूमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी सट्टावाजी गराई खेल खेलाउने गरेको पाइएपछि पक्राउ गरिएको हो ।
गोप्य सूचनाका आधारमा राजा चौधरीलगायतका व्यक्तिहरूको निगरानी राखी खोजतलास गर्दै जाँदा काठमाडौं महानगरपालिका–१४ कङ्लकीसहित, ठमेल र बालाजु हाइटलगायतका क्षेत्रबाट उनीहरुलाई गएराति पक्राउ गरी साेमबार थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेगमीले बताए ।
सोधपुछ गर्दा उनीहरूले मोबाइलमा विभिन्न जुवा खेलाउने अनलाइन प्लेटफर्मको प्रयोग गरी अनलाइन क्यासिनो गेमहरूमा अनलाइनमार्फत नै रकमको बाजी राख्न लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको खुलेको छ । उनीहरूले आर्थिक लाभका लागि कुराकानी गरेको अनलाइन विवरणसमेत फेला परेको उनले बताए ।
पक्राउ परेकाहरूमा बारा जितपुर सिमरा घर भई काठमाडौंको कलङ्की बस्ने २४ वर्षीय राजा चौधरी, सोही ठाउँका विवेक चौधरी, काठमाडौंको ठमेल बस्ने रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका घर भई काठमाडौंको ठमेल बस्ने आशा गुरुङ रहेका छन् ।