
काठमाडौं— प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तथ्यांकका आधारमा सरकारले नीति निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।
सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले बुझाएको ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा संसद् भवन नयाँ बानेश्वरमा ग्रहण गर्दै सभामुख घिमिरेले सो कुरा बताएका हुन् ।
उनले राज्यका हरेक नीति तथा कार्यक्रम बनाउँदा तथ्याङ्क कार्यालयले संर्वेक्षण गरेको तथ्याङ्क उपयोगी हुने बताए । उनले राज्यको नीति तथा कार्यक्रम तय गर्दा तथ्य तथ्यांक जरुरत पर्ने बताए । उनले पछिल्लो जनगणना प्रतिवेदन तथ्यांक कार्यालयले जरोमा पुगेर सर्वेक्षण गरेको पाएको बताए ।
सभामुख घिमिरेले २०६८ भन्दा धेरै वस्तुवादी तथ्यांक आएको भन्दै राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन नीति निर्माताका लागि सहयोगी हुने बताए । उनले पछिल्लो जनगणनाको तथ्यांकले हिमाल र पहाड रित्तिँदै गएको देखाएकोमा चिन्ता व्यक्त गरे ।
उनले हिमाल र पहाड रित्तिँदै गई तराई वा शहरमा बसाइँसराइको असर सामाजिक र राजनीतिक दुवैतर्फ पर्ने धारणा राखे । उनले तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनसंख्याको आधारमा अब आउने निर्वाचनमा जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्दा पहाडमा क्षेत्र घट्ने र तराई तथा शहरमा क्षेत्र बढ्नसक्ने देखिएको बताए ।