News Griha :: न्यूजगृह
विदेशमा अलपत्र परेका नेपाली कामदारका लागि विशेष आश्रयस्थलको व्यवस्था गरिएको छ : श्रममन्त्री भण्डारी

काठमाडौं— श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा अलपत्र परेका नेपाली कामदारका लागि ओमान, कुवेत, साउदी अरेविया र बहराइनमा विशेष आश्रयस्थलको व्यवस्था गरिएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारका लागि सबै प्रकारका श्रम स्विकृति दिने व्यवस्था प्रदेशस्तरमा रहेका श्रम तथा रोजगार कार्यालयहरूबाट मिलाइएको जानकारी दिए ।

उनले नेपाली नर्स तथा हेल्थ सेक्टरका अन्यलाई बेलायत पठाउने समझदारी अनुसार त्यसको छनौट प्रक्रियालाई अघि बढाइएको पनि बताए ।

उनले भने,‘विदेशमा अलपत्र परेका नेपाली कामदारलाई उद्धार गरी तत्काल आश्रय प्रदान गर्न ओमान, कुवेत, साउदी अरेविया र बहराइनमा विशेष आश्रय स्थलहरूको व्यवस्था गरिएको छ । प्रदेशस्तरमा रहेका श्रम तथा रोजगार कार्यालयहरूमार्फत वैदेशिक रोजगारीका लागि सबै प्रकारका श्रम स्विकृति हुने व्यवस्था गरिएको छ ।’

मन्त्री भण्डारीले वैदेशिक रोजगारमा रहेकाहरूलाई त्यहाँस्थित नेपाली नियोगबाट श्रम स्विकृति नविकरण गर्न सक्ने व्यवस्था पनि गरिएको बताए ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १९:४३
Weather Update