काठमाडौं— खानेपानीमन्त्री महिन्द्र राय यादवले याङ्ग्री र लार्के खाेलकाे पानी मेलम्ची खानेपानीको मुख्य सुरुङमा जोडेपछि काठमाडौंमा बाह्रै महिना खानेपानी उपलब्ध हुने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री यादवले याङ्ग्री र लार्केकाे पानी ल्याउन छिटोभन्दा छिटो सुरु गर्ने मन्त्रालयको योजना रहेको बताए ।
उनले काठमाडौं उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्थाका लागि ललितपुरको तोस्ने खोला र मकवानपुरको सिस्ने खोलामा अध्यययन भइरहेको पनि बताए । उनले भने,‘याङ्ग्री र लार्केकाे पानी ल्याउन छिटोभन्दा छिटो काम सुरु गर्ने मन्त्रालयको योजना रहेको छ । मेलम्ची नदीको माथिल्लो भागमा धेरै जोखिम रहेकोले याङ्ग्री र लार्केबाट रुपान्तरण गर्ने पानी सिधै सुरुङबाट मेलम्चीमा जोड्नेगरी कन्सेप्ट अगाडि बढिरहेको छ । सोहीअनुसार याङ्ग्री र लार्केको योजनाअन्तर्गत पानी मुख्य सुरुङमा जोडिएपछि मेलम्ची खानेपानी आयोजना पूर्ण रुपमा सञ्चालन भइ काठमाडौं उपत्यकाभित्र बाह्रै महिना, चौबिसै घण्टा पानी उपलब्ध हुन्छ ।’
मन्त्री यादवले मेलम्ची खानेपानी नयाँ वितरण लाइनबाट वितरण गर्ने लक्ष्य राखिएको पनि बताए ।