News Griha :: न्यूजगृह
नेपाली शान्ति सैनिकको सङ्ख्या १० हजार पुर्‍याउने रक्षामन्त्रीको प्रतिबद्धता 

काठमाडौं— रक्षामन्त्री पूर्णबहादूर खड्काले शान्ति सेनामा नेपाली सेनाको सङ्ख्या १० हजार पुर्‍याउने तयारी भइरहेको बताएका छन् ।

सोमबार बजेटबारे मन्त्रालयगत रूपमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले सेनाको उपल्लो दर्जालाई समेत समेट्ने गरी शान्ति सेनामा नेपाली सेनाको सङ्ख्यालाई ६ हजारबाट बढाएर १० हजार पुर्‍याइने जानकारी दिए । उनले भने, ‘अहिले हामी ६ हजारको हाराहारीको सङ्ख्यामा नेपाली सेनालाई शान्ति सेनामा खटाएका छौँ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा १० हजारको सङ्ख्यामा सेना पुर्‍याउन सक्ने तयारीमा छौँ ।’ 

त्यस्तै, उनले संयुक्त राष्ट्रसङ्घको आग्रहमा २ हजारको सङ्ख्यामा शान्ति सेना तयारी अवस्थामा राखेको र त्यसमा सेनाको उपल्लो दर्जालाई समेत समेट्ने गरी कार्य गरिरहेको बताए । 

‘रक्षा र परराष्ट्र मन्त्रालयले कूटनीतिक माध्यमबाट नेपाली सेनाको उपल्लो दर्जामा नेतृत्वको पहुँच पुर्‍याउने गरी संयुक्त राष्ट्र सङ्घको सम्बन्धित सङ्स्था र सम्बन्धित पदाधिकारीसँग सेनाबारे पहल जारी राखेका छौँ ।’

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १४:००
Weather Update