News Griha :: न्यूजगृह
सरकारलाई सांसद पन्तको प्रश्न : दलितले समान अधिकार कहिले पाउने ?

काठमाडौं— नेकपा एमालेका सांसद रघुजी पन्तले सामाजिक रूपान्तरण हुन नसक्दा दलित समुदायले त्रेता युगदेखि अहिलेसम्म अन्याय भोग्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

सोमबार प्रतिनिधि सभा बैठकमा दलित समुदायले ब्राह्मणसँग विवाह गर्दा होस् या ब्राह्मण समुदायका सदस्यले दलितसँग विवाह गर्दा दुवै परिस्थितिमा दलित समुदायमाथि नै अन्याय हुने गरेको उनको भनाइ छ । 

उनले भने, ‘दलित केटाले उच्च जातको केटी ल्याउँदा होस् वा दलित केटीले उच्च जातको केटासँग जाँदा मारमा पर्नेमा दलित देखिन्छ । हाम्रो पद्धति गलत भयो, खाली प्रशासनको मात्र नभएर ठूला राननीतिक दलहरूले जनताको बीचमा समाजिक चेतना फैलाउने काम गरेनौँ र समाज रूपान्तरणको कुरा सरकार र प्रशासनमा मात्र भर पर्‍यो ।’

उनले दलित र गैह्रदलित समुदायमा अझै विवाहजस्ता सामाजिक कार्य समाजमा स्वीकार्य नभएकोले गर्दा हत्या र अपहरणजस्ता विविध घटना हुने गरेको उदाहरण दिँदै दलितले समान अधिकार कहिले पाउने भन्दै प्रश्न गरे । 

‘आज प्रश्न उठेको छ दलितले समान अधिकार कहिले पाउने ? त्रेता युगदेखि यो युगसम्म दलितहरू पीडित, मारिएको र दमनमा परेकोपर्‍यै छन्। अहिले हामीले न्यायपूर्ण व्यवस्था अपनाएका छौँ, सबैलाई समान र बराबरी अधिकार संविधानतः दिएका छौँ भनेर गर्व गर्न सुहाएन ।’

त्यस्तै, उनले सप्तरीको बबिता इश्वरले २१ वर्षमा सोही उमेर समूहको दलित केटासँग विवाह गरेको घटनालाई स्थानीय सरकार र परिवारका सदस्यले मिलेमतोमा केटीलाई नाबालिग करार गरी दलित केटा र उसको जेठाजुलाई थुनेको भन्दै प्रशासन र अदालतबाट भएको अन्यापूर्ण घटनामा दोषीलाई कारबाही गर्नुपर्ने माग गरे । 

‘जुन केटीको श्रीमान र जेठाजु जेलमा छन् सर्वोच्च अदालतले फैसला पनि गर्ला तर, यस्ता विषयहरूमा सरकारको ध्यान जाओस् । यो प्रशासन र प्रहरीको बदमासी हो । वडा अध्यक्षले नक्कली जन्मदर्ता कागज बनाएर केटीलाई नाबालिग करार गरेको छ । यस्तोमा अदालतले दोषीलाई सजाए दिए पनि गडबडी गर्नेलाई सजाए तोक्दैन । नक्कली सिफारिस गरेर वयस्कलाई नाबालिग गर्ने वडा अध्यक्षलाई सरकारले तुरुन्त कारबाही गरोस्, यसमा गम्भीर ध्यानाकर्षण हुनुपर्छ ।’
 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १२:३४
Weather Update