News Griha :: न्यूजगृह
इन्टरनेट सेवा प्रदायक कम्पनीलाई वीरगन्ज महानगरले गर्‍यो कारबाही
फाइल तस्बिर।

वीरगन्ज— वीरगन्ज महानगरपालिकाले आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ । 

पटकपटक तार व्यवस्थापनका लागि समय दिँदा पनि बेवास्ता गरेपछि महानगरपालिकाले छ इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको हो । महानगरपालिकाले तार व्यवस्थापनका लागि काम गरिरहेको र आ–आफ्नो तार व्यवस्थापनका लागि पटकपटक समय दिँदा पनि अटेर गरेपछि बाध्य भएर कारबाही प्रक्रियामा जानुपरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । 

महानगरले सोमबार इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक, भायोनेट, क्लासिक टेक, सुविसु र डिसहोमलाई कारबाहीस्वरूप रु दुई हजार पाँच सयका दरले जरिबाना गरिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय, ओम आश्रमलगायतका स्थानमा केही दिनअघि आगलागी हुँदा ती कम्पनीका तार सडकमै असरल्ल खसेर जोखिमपूर्ण अवस्थामा रहेको जानकारी दिएर हटाउन आग्रह गर्दा पनि सम्बन्धित कम्पनीले हटाउन चासो नदिएपछि महानगरले उनीहरूलाई कारबाही गरिएको जनाएको छ ।  

पोलमा गुजुल्टो पारेर जथाभाबी टाँगिएको तारका कारण आगलागीका घटना पनि बढिरहेको छ । महानगरले तार व्यवस्थापनमा लामो समयदेखि काम गरिरहेको भए पनि नतिजा हात पार्न सकेको छैन । सम्बन्धित कम्पनीको असहयोगका कारण तार व्यवस्थापन जटिल बनेको र यसले शहरी सौन्दर्यलाई समेत असर गरिरहेको महानगरपालिकाको भनाइ छ । 

जथाभाबी तार तान्ने कामलाई निरुत्साहित गर्न महानगरले पटकपटक सम्बन्धित कम्पनीलाई चेतावनी दिएको भए पनि अटेर गर्दै पोलमा तार झुण्ड्याउने क्रमलाई जारी राखेको छ । अब कम्पनीले पूर्वस्वीकृति बेगर तार तान्ने र जथाभावी झुण्ड्याउने गरेको भेटिए कडाइका साथ कारबाही गर्ने गरी महानगर जुटेको महानगरको सूचना प्रविधि शाखाका बृजेश प्रधानले बताए । रासस

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १०:५५
Weather Update