
असार १० गते आइतबार राजनीतिक, अर्थ, सामाजिक, शिक्षाका समाचार नै प्रमुख बने । प्रतिनिधि सभा बैठकमा उपराष्ट्रपतिको औचित्यबारे सांसदहरुले प्रश्न उठाए । नेकपा एमालेका सांसदहरूले नेपाली कांग्रस र एमालेबीच नयाँ सरकार बन्ने संकेत गरे । तर माओवादीका सांसदले भने अहिले नयाँ सरकार बन्ने सम्भावना नरहेको दाबी गरे । त्यसैगरी आइतबार प्रायः सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरे । आइतबार पशुपतिनाथ मन्दिरको जलहरीको विषय पनि चर्चामा रह्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरमा पुगेर जलहरी बाहिर निकालेर जोखेको छ । जलहरी राख्ने सुन खरीद गर्दा अनियमितता भएको उजुरी परेपछि अख्तियारले यो विषयमा अनुसनधान अघि बढाएको हो । त्यसैगरी लामो समयदेखि आन्दोलनरत विद्यालय कर्मचारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई भेटेर माग पूरा गर्न आग्रह गरेका छन् ।
पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज आइतबार हामी दिनभरका मुख्य मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—
०००
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संसदमा आफ्नो पार्टीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतकसमेत रहेका परियारले बजेट कर्मकाण्डी आएको बताए । उनले बजेटका सैद्धान्तिक छलफलदेखि नीति तथा कार्यक्रम र बजेट नै नयाँ निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले बजेटकै कारण अहिलेको सरकार ढल्छ भन्न नसकिने बताए । उनले संसदमा पहिलो र दोस्रो ठूलो दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरामा आफूलाई विश्वास नलागेको बताए ।
०००
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले बजेटमा भेदभाव गरिएको भन्दै पास हुन नसक्ने बताए । आइतबार संसदबाहिर सञ्चारकमीसँग केसीले सिद्धान्ततः बजेट संशोधन गर्न नमिल्ने बताए । बजेटमाथिको अहिलेको छलफल जनता भुल्याउने काम मात्रै भएको उनको भनाइ छ ।
०००
नेकपा एमालेका सांसल रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकारलाई जाने बजेट जनताले तिरेको करको दुरुपयोग भएको बताए । आइतबार प्रतिनिधि सभामा बसेको बैठकमा बोल्दै सांसद पन्तले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक नरहेको बताए ।
०००
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्ता गठबन्धनमा एक किसिमको सहमति बनेपछि असार १२ गते संसदबाट बजेट पास हुने दाबी गरेका छन् । उनले सांसदहरुले संसदमा उठाएका कुराको सम्बोधन हुनुपर्ने र अर्थमन्त्री डा.प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट सुधार्ने प्रतिबद्धता जनाइसकेकाले बजेट पास हुने बताए ।
०००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् । आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण गर्दै ओलीले नेकपा विभाजन भयो भनेर मात्रै अब नबुझ्ने भन्दै विभाजनका कारणहरुको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यलाई राम्रो हुने बताए ।
०००
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताए । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले आर्थिक अवस्था सुधारको विषयलाई सबैको साझाको विषय बनाएर अघि बढ्न जरुरी रहेको बताएका हुन् । उनले आर्थिक प्रणालीलाई लयमा ल्याउनको निम्ति सत्तापक्ष र प्रतिपक्ष बाँडिने अवस्था देशमा नरहेको जिकिर गरे ।
०००
नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले नेपाली कांग्रेस पुनः जीवन दिनपर्ने आवश्यकता रहेको बताएका छन् । आइतबार पार्टी निकट नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस अहिले छियाछिया भइरहेको भन्दै यसलाई पुनः जीवन दिनुपर्ने खाँचो रहेको बताए ।
०००
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी नभएको भए नागरिकता समस्या नेपालमा कहिले पनि समाधान नहुने दाबी गरेका छन् । आइतबार पार्टीको विधान अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नभएको भए नागरिकता समस्या कहिल्यै हल नहुने दाबी गरेका हुन् ।
०००
साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक ६२.२१ अंक बढेर २११७.७३ बिन्दुमा पुगेको हो । त्यस्तै सेन्सेटिभ इण्डेक्स ९.६४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ४.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८९ अंकले बढेको छ । नेप्से ६२ अंकले बढेसँगै नेप्से परिसूचक २१ सय बिन्दुमाथि पुगेको छ ।
०००
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीसहितको एक टोलीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएकाे भेटमा विद्यालय कर्मचारीले विभिन्न मागका विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री दाहाललाई भेट गरेपछि अध्यक्ष गंगाराम तिवारीले न्यूजगृहसँग भने,‘हामीले प्रधानमन्त्रीलाई भेट्यौं । ‘बजेट संशोधन गरेर तपाईंहरूका माग समाधान गर्छौं । तपाईंहरूको मागबारे म चिन्तित छु । म प्रतिबद्धता जाहेर गर्दछु । तपाईंहरु ढुक्क हुनुहोस् ।’ प्रधानमन्त्रीले भन्नुभयो ।’
अध्यक्ष तिवारीले आन्दोलन गरिरहेको र माग पूरा नगराई घर जानसक्ने अवस्था नरहेको प्रधानमन्त्रीलाई जानकारी गराए । त्यसैगरी विद्यालय कर्मचारी परिषद्को एक टोलीले आइतबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट गरेको छ । टोलीले देउवालाई पनि मागबारे ध्यानाकर्षण गराउँदै पूरा गराउन आवश्यक समन्वय गरिदिन आग्रह गरेकाे छ ।
विद्यालय कर्मचारीसहितको टोलीसँग देउवाले भनाइ उद्धृत गर्दे अध्यक्ष तिवारीले भने,‘अर्थमन्त्री सँग कुरा गर्छु । ढुक्क हुनुस् ।’ प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवालाई भेटेपछि तिवारीले माग पूरा हुनेमा आफूहरू आशावादी रहेको जनाए । उनी भन्छन्,‘दुई चार दिन ढिला होला तर माग पूरा हुनेमा ढुक्क छौं ।’
विद्यालय कर्मचारीहरूले निजामती कर्मचारीसरह तलब सुविधाको माग गरेका छन् । विद्यालय सहायक (लेखापाल) लाई ३४ हजार ९०२ हुनुपर्ने, विद्यालय सहयोगी (का.स) २६ हजार ७०२ तलब हुनुपर्ने, कर्मचारीलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्ने लगायतका माग राखेका छन् ।
संघीय शिक्षा ऐन जारी हुँदासम्म अविच्छिन्न कार्यरत विद्यालय कर्मचारीलाई स्थायी गर्न एक पटकका लागि उमेर हद नलाग्ने व्यवस्था गर्नुपर्ने, ६० वर्ष पुगेका विद्यालय कर्मचारीहरूलाई शिक्षक सरहको सेवा सुविधा दिएर अवकाशमा पठाउनुपर्ने पनि उनीहरूको माग छ ।