News Griha :: न्यूजगृह
चरम आर्थिक सङ्कटमा सौर्य एअरलाइन्स, कम्पनी नै बन्द हुने अवस्थामा  

काठमाडौं— चरम आर्थिक सङ्कटमा परेको निजी हवाई सेवाप्रदायक कम्पनी सौर्य एअरलाइन्स बन्द हुने अवस्थामा पुगेको छ।

आर्थिक सङ्कट भएपछि अहिले एअरलाइन्सले कर्मचारी कटौती गरिरहेको छ । त्यस्तै, उडान नगर्ने घोषणा गरिसकेको छ। एअरलाइन्सले कर्मचारी कटौतीका लागि गत जेठ १० मा सूचना जारी गरेको थियो ।

एअरलाइन्सका महाप्रबन्धक गोपाल भट्टराईले जारी गरेको सूचनामा ८ वर्षभन्दा बढी समयदेखि देशको विभिन्न क्षेत्रहरूमा सीआरजे- २०० जहाजबाट हवाई उडान सेवा गर्दै आएको तर कोभिडका कारण कम्पनीले आर्थिक समस्या भोग्नु परेको उल्लेख छ।

एअरलाइन्ससँग तीनवटा सीआरजे जहाज छन्। तर दुईवटा मात्रै उडानयोग्य छन्। एउटा जहाज लामो समयदेखि ग्राउण्डेड छ ।  सीआरजे जहाजको अपरेसनमा इन्धनको खर्च बढी भएका कारण साढे १ वर्षदेखि एअरलाइन्स घाटामा सञ्चालन भएको उक्त सूचनामा उल्लेख छ।

त्यस्तै, सौर्यले तिर्नुपर्ने विमानस्थलको बक्यौता रकम पनि बढ्दो छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सौर्य एअरलाइन्सलेसीआरजे उडान बन्द गरेर एटीआर उडानका लागि जहाज ल्याउन कुनै निवेदन दिएको छैन। यसकारण पनि कुनै पनि दिन सौर्यको उडान बन्द हुन सक्छ। 

जानकारका अनुसार एटीआर जहाज ल्याउनका लागि सुरुमा सबै प्रक्रिया पूरा गर्दा एकदेखि दुई वर्षसम्म लाग्छ। 'जहाजमात्र ल्याएर हुँदैन, जहाज उडानका लागि सबै मापदण्ड पूरा गर्नुपर्छ। अहिलेको अवस्थामा सौर्यका लागि त्यो पनि सम्भव छैन,' ती जानकारले भने । 

आर्थिक रुपमा सक्षम नभएपछि सौर्यमा लगानीकर्ता भित्रिने र बाहिरिने क्रम निरन्तर चलेको छ। 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १८:२४
Weather Update