News Griha :: न्यूजगृह
हस्तान्तरण भएको एक महिना नहुँदै चुहिन थाल्यो अस्पताल भवन

बनियानी— झापाको भद्रपुर नगरपालिका–८ स्थित प्रादेशिक अस्पतालको नवनिर्मित भवन हस्तान्तरण भएको एक महिना नबित्दै चुहिन थालेको छ ।

निर्माण कार्य गुणस्तरहीन भएपछि भवन हस्तान्तरणको एक महिना नबित्दै छतबाट पानी चुहिन थालेको हो । भवनबाट पानी चुहिन थालेपछि भवनको विभिन्न स्थानका पर्खाल र छत रसाएका छन् । ‘छतको धेरै ठाउँ चर्केको छ,’ नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटी अध्यक्ष शिवराज भण्डारीले भने, ‘भर्खरै बनेको भवनको कोठाहरुमा पानी चुहिन थालेका छन् ।’

भवनको पर्खाल र भुइँबीच धेरै स्थानमा धाँजा फाटेको, भवनको पछाडि भुइँमा बिच्छ्याइएको इन्टरलक दबिएको, प्लम्बिङका पाइप कमसल र लापरबाही किसिमले लगाइएको, भुइँ तलाको केही स्थानमा सामान्य दबाब दिँदा भत्किने (बालुवा फुसफुस झर्ने), बरण्डामा परेको पानीभित्र पस्ने, भवनभित्र लगाइएको मार्बल अधिकांश चर्केको पाइएको भण्डारीले जानकारी दिए । 

नगरप्रमुख गणेश पोखरेलले भवन निर्माणमा कमजोरी भएको थाहा पाएपछि निर्माण कार्य रोक्न आग्रह गरेको बताए । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय झापाका सब डिभिजनल इन्जिनियरसँग छलफल गरेरमात्र काम अगाडि बढाइने उनले बताए । 

‘गुणस्तहीन कामलाई ढाकछोप गर्न रातारात आएर काम अघि बढाएको पाइएको छ,’ उनले भने, ‘आजदेखि नगर प्रहरी परिचालन गरेर काम हुन दिँदैनौँ, सबै पक्षसँगको सहकार्यमा गुणस्तरीय काम हुन यकिन भएपछि मात्र अब काम अघि बढ्छ ।’ युवा नागरिक समाज भद्रपुरका अध्यक्ष प्रेमप्रसाद खनालले भवन निर्माणमा कमजोरी भएको पाइएपछि सुरुदेखि नै खबरदारी गर्दै आएको बताए । 

नागरिकको स्वास्थ्यसँग जोडिएको संवेदशील क्षेत्रमा समेत अनियमितता हुँदा राज्यको ठूलो लगानी खेर जाने अवस्था आएको उनले बताए । ‘कुनै पनि हालतमा हामी चुप लागेर बस्दैनौँ,’ उनले भने, ‘गुणस्तरअनुसारको भवन बनाउनै पर्छ ।’

गत जेठ २२ गते सघन शहरी विकास आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रुपक आचार्यले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जयकुमार ठाकुरलाई नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेका थिए । 

पचास शय्या क्षमताको नवनिर्मित अस्पताल भवन निर्माणको ठेक्का श्री कन्टेक्ट प्रालि काठमाडौंले रु २२ करोड ६१ लाख ३७ हजार तीन सय ५२ (भ्याट बाहेक) लिएको थियो भने २०७४ साल कात्तिक ३० गते निर्माण सम्झौता गरिएको उक्त भवनको निर्माण कार्य २०७९ भदौ २५ गते सम्पन्न गर्नुपर्ने रहेको थियो ।

सञ्चालक कुशल शर्मा रहेको उक्त कन्स्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर राम श्रेष्ठका अनुसार दुईतले नवनिर्मित भवनमा छवटा ब्लक र एउटा र्‍याम्प छ । नवनिर्मित अपाङ्गमैत्री भवनमा दुईवटा लिफ्टसमेत जडान गरिएको छ । 

भवन निर्माणको गुणस्तरमा प्रश्न उठेपछि यहाँका राजनीतिक दल, नागरिक समाज र सरोकारवालाले विरोध गर्दै मापदण्ड अनुसारको अस्पताल भवन निर्माण गर्नुपर्ने माग गर्न थालेका छन् । रासस

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १६:४०
Weather Update