News Griha :: न्यूजगृह
सेती नदीको दोहन रोक्न अभियान

कास्की— अन्नपूर्ण हिमशृङ्खलाबाट उद्गम भई कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको मध्यभाग भएर बग्ने  सेती नदीको संरक्षणका लागि संरक्षण अभियान सुरु भएको छ ।

नदीबाट अवैज्ञानिकरूपमा नदीजन्य सामग्रीको उत्खननले नदी तीव्ररूपमा कुरुप हुँदै गएपछि संरक्षणका लागि अभियान सुरु गरिएको हो ।

केही वर्षदेखि नदीबाट तीव्ररूपले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननले वातावरणीय असर पर्न थालेपछि प्रभावित क्षेत्रका नागरिकले अभियान सुरु गरेका हुन् ।

सेती नदीबाट  बढ्दो सहरीकरणले माग गरेको नदीजन्य सामग्रीको दोहन रोकी नदीको संरक्षण र वैज्ञानिक उपयोग गर्नका लागि अभिप्रेरित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी अभियान सुरु गरिएको अभियन्ता हेमराज पौडेलले बताए ।

नदी संरक्षण अभियानलाई संरक्षण संस्थाका रूपमा अघि बढाउँदै सेती नदीको वैज्ञानिक नक्साङ्कन गर्नका लागि सरोकारवाला निकायमा पैरवी गरिने उनले बताए । उनले भने, ‘सेती नदी संरक्षणको वैज्ञानिक योजना निर्माण गरी  लागु गर्नका लागि तीनै तहका सरकारसँग पैरवी र सहकार्य गर्नेछौँ ।’

सेती नदी र यसका मुख्य सहायक नदीहरूको जलाधारलगायत जल, जमिन, जङ्गल, भौतिक पूर्वाधार र धार्मिक तथा सांस्कृतिकस्थल र संरचनाको संरक्षण र वैज्ञानिक उपयोगसम्बन्धी जनसमुदायमा सचेतना फैलाउने र दोहनको खबरदारी गर्ने गरिने पौडेलले बताए ।

सुरुआतमा सेती नदी बचाउ अभियानको कार्यक्षेत्र पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका रहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  ०९:०८
Weather Update