विपत्ति
बाढीपहिरोका कारण पाँचथरमा ११९ परिवार विस्थापित, तीन जना अझै बेपत्ता

काठमाडौं— पाँचथरमा बाढीपहिरोका कारण चार स्थानीय तहका ११९ घर परिवार प्रभावित भएका छन् ।
सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढीपहिरोका कारण एक सय १९ परिवारका पाँच सय ७४ जना प्रभावित बनेका हुन् ।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीका अनुसार बाढीले पाँचथरमा ६ वटा पक्की पुल बगाएको छ । त्यस्तै एउटा बेलिब्रिज, ८ वटा झोलुङ्गे पुल र एउटा फलामको ट्रस पनि बाढीले बगाएको छ । पुलमा क्षति भएपछि मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड, तमोर कोरिडोरको माझीटार–ताप्लेजुङ खण्ड, मध्यपहाडी लोकमार्गको ओयाम–च्याङथापू खण्ड अवरुद्ध भएका छन् ।
ग्रामीण सडकको सवारी आवागमन प्रभावित बनेको प्रजिअ मङ्ग्रातीले बताए । पाँचथरमा पहिरोले एक बालिका तथा बाढीले एक महिला र एक पुरुषको मृत्यु भएको छ । बाढीमा परी अझैसम्म तीन जना बेपत्ता छन् ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० ०६:१६