
रसुवा— गत असारको तेस्रो सातादेखि रोकिएको जग्गा कित्ताकाट खुलाउन पालिकाले सुरुआत गरेका छन् ।
यसलाई कार्यान्वयन गर्न पाँच गाउँपालिकामध्ये पहिलो चरणमा उत्तरगयाले गृहकार्य अगाडि बढाएको हो । यसका लागि उसले सुझाव संकलन सम्पन्न गरेको छ ।
आवास क्षेत्र र कृषियोग्य जग्गाका विषयमा यकिन गरेर मात्र कित्ताकाट गराउन संघीय सरकारले सबै पालिकालाई पत्राचार गरेको थियो ।
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले सुझाव संकलनकार्य सम्पन्न गरी निर्णयमा जाने अन्तिम तयारी भएको जानकारी दिए ।
भू–उपयोगको नीतिअनुरूप संकलित सुझाव र विज्ञको सिफारिसलाई आधार मानी यही चैत्र २५ गतेभित्र निर्णय लिइसक्ने उनले बताए ।
कृषिका लागि दुई रोपनी र घडेरीका लागि साढे चारआनाभन्दा कम कित्ताकाट गर्न नपाइने भू–उपयोग नीतिले औँल्याएको छ ।
असारदेखि हालसम्म कित्ताकाट हुन नसकेकै कारण रु ३० लाखभन्दा बढी राजस्व घटेको मालपोत कार्यालयले जनाएको छ ।
कित्ताको रजिष्ट्रेशन, मरूवा नामसारी, बैंक–वित्तीय संस्थाको धितो बन्धकको कामबाहेक कित्ताकाटबाट गरिने रजिष्ट्रेशनकार्य रोकिएको मालपोत प्रमुख गणेश श्रेष्ठले बताए ।
नौकुण्ड गाउँपालिकाले जमिनको कित्ता नम्बरसहितको लगत संकलन सुरु गरेको अध्यक्ष नुर्पुसाङ्वो घलेले बताए ।