
ताप्लेजुङ— प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको उपस्थिति बढ्न थालेको छ । क्रमशः गर्मी मौसम सुरु भएपछि पाथीभरा मन्दिरमा भक्तजनको उपस्थिति बढ्न थालेको हो ।
बर्सेनि वसन्त ऋतुको आगमनसँगै मन्दिरमा भक्तजनको संख्या बढ्ने गरेको छ । यो वर्ष हिउँ कम परे पनि मन्दिरको दर्शनका लागि दैनिक सात सय बढी तीर्थयात्री ओहोरदोहोर गरिरहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
शनिबार र मंगलबारका दिनमा भने दुई हजार बढी भक्तजन पुग्न थालेको समितिको भनाइ छ ।
गत मंगलबार दुई हजार दुई सय ८३ जना भक्तजन पाथीभरा दर्शनका लागि आएको समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । उनको भनाइमा मन्दिरमा आउने संख्या दैनिक बढिरहेको छ ।
बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढ्ने गरेको छ ।
बडादसैँपछि चैतेदसैँ (रामनवमी) का समयमा धेरै तीर्थयात्री यहाँ आउँछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजनहरू आउने गरेका छन् ।
पाथीभराको दर्शनसँगै कञ्चनजंघासहितका हिमशृङ्खलाको अवलोकन, विभिन्न प्रजातिका गुराँसको सुन्दरतामा रमाउनुका साथै हिउँ खेल्नका लागि यहाँ आउने पर्यटक बढेको पाथीभरा क्षेत्रमा पर्ने फेदीका होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए ।