
काठमाडौं— ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा गएराति गएको पहिरोमा परी १८ महिने शिशु सहित एकै परिवारको चार जनाको मृत्यु भएको छ ।
पहिरोले दुई दर्जन बढी घर बगाउनुको साथै पशुचौपाया र धनजनको क्षति गराएको र उद्धार कार्य भइरहेको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर राउतले जानकारी दिए ।
‘बिहीबार परेको वर्षाको कारण ११ बजे राति गएको पहिरोमा रणबहादुर गुरुङको परिवार नै परे । मृतक मध्ये ३८ वर्षीय रणबहादुर गुरुङ, २९ वर्षीया शिवमाया गुरुङ र १८ महिनाको छोरी कविता गुरुङको शव निकालिएको छ भने १० वर्षीय छोरा दिनेश गुरुङको शव निकाल्ने प्रयास भइरहेको छ,’ राउतले भने ।
पहिरोले गुरुङ बस्तीमा रहेको अन्य २५ भन्दा बढी घरमा क्षति पुर्याएको छ । दुई दर्जन बढी पशुचौपाय पनि बगाएको छ । पहिरो गएको थाहा पाएपछि हिजो रातिबाटै नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित स्थानीयको सहयोगमा खोजी तथा उद्धार कार्य सुरु गरिएको राउतको भनाइ छ ।
मृतकमध्ये अझै एक जनाको शव भेटिएको छैन । प्रहरीले खोजी कार्य जारी राखेको छ भने, के–कति धनमालको क्षति भयो सो विवरण यकिन भइनसकेको वडा अध्यक्षले जानकारी दिए ।