News Griha :: न्यूजगृह
ओखलढुङ्गामा पहिरोले घर पुरियो, आमाबाबुको मृत्यु, दुई छोराछोरी बेपत्ता

ओखलढुङ्गा— ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा परी दुई जना बेपत्ता भएका छन् ।

गएराति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमायाको ज्यान गएको हो ।

गुरुङका १० वर्षीय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिका पहिराेमा परी बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराेले पुरिएको छ ।

ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अहिले बेपत्ताको खोजी गरिरहेका छन् ।

पहिरोले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०७:५४
Weather Update