News Griha :: न्यूजगृह
गोरखामा जीप दुर्घटना अपडेट : घाइतेको कहाँ उपचार भइरहेको छ ?

काठमाडौं— गोरखाको सिलिङमा शुक्रबार बिहान दुई बजे भएको जीप दुर्घटनामा परी घाइते हुनेहरूको चितवन मेडिकल कलेज र आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

बेहुला बेहुलीसहित शहीदलखन–३ कोटगाउँबाट १९ जना जन्ती बोकेर शहीदलखन–५ पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको बोलेरो जीप शहीद लखन गाउँपालिका–३ सिलिङमा शुक्रबार दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकामध्ये एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने १२ जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेका अनुसार जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।

अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । मृतकको पहिचालन खुलेको छैन ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०७:४२
Weather Update