
काठमाडौं— नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मंसिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार मंसिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन् ।
गत मंसिरमा तीन जना पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले रु एक हजार दरका रु २६ हजार र रु पाँच सय दरको रु चार हजार पाँच नक्कली नोट बरामद गरेको जनाएको छ । साथै पुसमा १७ पक्राउ परेका र उनीहरुको साथबाट रु एक हजार दरको रु पाँच लाख ३६ हजार बरामद गरिएको थियो ।
पुसमा पाँच सय, सय र ५० दरका पनि नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ । माघमा रु एक हजार दरको रु चार लाख ४४ हजार नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौंको कालोपुलबाट यही चैत्र १ गते नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले रु छ लाख ३६ हजार नक्कली नोट बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाडौं बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भीमेश्वर नगरपालिका–७ घर भएर सतुंगल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।