News Griha :: न्यूजगृह
बाढीपहिरो पीडितका लागि सेनाकाे हेलिकप्टरबाट राहत ढुवानी

काठमाडौं—  पूर्वी नेपालको बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री र घाइते बिरामीका लागि उपचार सामग्री ढुवानी गर्न थालिएको छ ।

ताप्लेजुङको सिदिङ्गवा गाउँपालिका–६, मेहेलेमा विस्थापित नागरिकलाई वितरण गर्ने राहत सामग्री एवम् घाइते/बिरामीको उपचारका लागि औषधिजन्य सामग्री विराटनगरबाट नेपाली सेनाको हेलिकप्टरद्वारा ढुवानी गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मेहेलेमा गएको पहिरोमा परी निधन भएका दुई सर्वसाधारणको शव हेलिकप्टरबाट झापा  पुर्‍याई आफन्तलाई बुझाइएको छ भने घाइते एक जनालाई पनि सोही हेलिकप्टरद्वारा बुधबार उद्धार गरिएको नेपाली सेनाले जानकारी दिएको छ ।

ताप्लेजुङ, पाँचथर तथा सङ्खुवासभा जिल्लाका बाढी तथा पहिरो प्रभावित इलाकामा चौथो दिन पनि नेपाली सेनाका स्थानीय युनिटबाट परिचालित फौजका साथै अन्य निकायसँगको समन्वयमा खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०६:०३
Weather Update