
काठमाडौं— आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
कृषि क्षेत्रको प्रोत्साहनका लागि, किसानको सम्मानको लागि पनि उनीहरूलाई पेन्सन दिने व्यवस्था गर्न सरकारले आँट गर्नुपर्ने उनको तर्क छ ।
बुधबार प्रतिनिधि सभामा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै अध्यक्ष साहले लुटेर बसेका कर्मचारीहरूलाई पेन्सन दिने तर, किसानलाई नदिने काम नगर्न पनि सरकारलाई सचेत गराए ।
उनले विनियोजित बजेटले कृषि क्षेत्रतर्फ आकर्षित गर्नसक्ने सम्भावना नरहेको उल्लेख गर्दै त्यसतर्फ विशेष ध्यान पुर्याउन पनि सरकारलाई सुझाव दिए ।
‘किसानलाई पेन्सनको व्यवस्था गरौँ । लुट्ने स्थायी सरकारलाई होइन । जति ठूलो पोस्टमा छ, त्यति ठूलो भाग खानेलाई पेन्सन दिएर पाल्ने होइन । स्वार्थीलाई सम्मान गर्ने हो कि त्यागीलाई सम्मान गर्ने हो ? दुनियाँको लागि खनुपसिना सुकाएर जीवन दिनेलाई सम्मान गर्ने हो कि चुसेर महल ठड्याउनेलाई सम्मान गर्ने हो ?,’ उनले भने, ‘त्यसैले म चाहन्छु– सरकारले यसमा आँट गरोस् । किसानहरूले आफ्नो हक प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने अवस्था नआओस् ।’
अध्यक्ष साहले गरिबलाई पनि पढ्न सक्ने वातावरणको निर्माण हुने गरी शिक्षा क्षेत्रका बजेटको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।