News Griha :: न्यूजगृह
बझाङ दुर्घटना अपडेट : जोशी र भण्डारी खतरामुक्त
फाइल तस्बिर ।

जानकी— बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परेका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेको बाँकेस्थित कोहोलपुर मेडिकल कलेजका अर्थोपेडिक रेसिडेन्ट डा. ब्राईन पोख्रेलले बताएका छन् । उनका अनुसार घाइते दुवै जनालाई सघन उपचार कक्षमा राखिएको र होसमा भएको उनीहरू बोल्न सक्ने अवस्थामा छन् । 

उपचारका क्रममा एमआरआई र सिटीस्क्यान गरी जाँच गर्दा दुवै जनाको पछाडिको भागको मेरुदण्डमा समस्या देखिएको डा. पोख्रेलले जानकारी दिए । 

जोशीको मेरुदण्डको दुई ठाउँमा भाँचिएको छ भने भण्डारीको घाँटीको पछाडीको भागमा रहेको एक ठाउँको हड्डी दबिएको छ । उनीहरू दुवै जनाको चाँडो शल्यक्रिया गर्नुपर्ने भए पनि परिवारका कुनैपनि सदस्य अस्पतालमा नआइपुगेकाले शल्यक्रिया हुन नसकेको डा. पोख्रेलले बताए । 

उनले भने, ‘शल्यक्रिया यही पनि गर्न सकिन्छ तर, परिवारका सदस्य नआइकन हामीले गर्न मिल्दैन । उहाँहरूको सल्लाहमा हामीले शल्यक्रिया गर्ने हो ।’

जोशी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको जीप चालक हुन् भने भण्डारी अङ्गरक्षक । उक्त गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परेका मन्त्री सिंहको सोही मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार निधन भएको थियो । दुर्घटनामा मन्त्री पत्नी अमृता र भाउजु पर्ने जयादेवीको पनि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा हिजै बाटोमै मृत्यु भएको थियो । 

प्रदेशमन्त्री सिंह चढेको सुपप्र ९१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा धारछडस्थित सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । रासस

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १२:१६
Weather Update