News Griha :: न्यूजगृह
बेथिति संसदभित्रै हुँदा लज्जाबोध भएको छ : रास्वपा सांसद ढकाल

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद् भवनभित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले भ्रष्टाचार, बेथिति र विभेद खोज्न टाढा जान नपर्ने बताए ।

उनले संसद् भवन नै भ्रष्टाचार र बेथितिको अखडा बनेको बताउँदै यहीभित्र विभेदको अनुपन नमूना रहेको बताए ।

उनले भने ‘बेथितिका कुराहरु गरिरहँदा मित्र राष्ट्र चीन सरकारले बनाई दिएको यो विल्डिङ शहरी विकास मन्त्रालयअन्तर्गत पर्दछ । यो बिल्डिङको बेथितिको कुरा उठाउँदैछु । शहरी विकास मन्त्रालयका छानो टाल्नलाई बजेट आउँदो रहेछ । यो वर्ष पनि चुहिन्छ । यही कम्पाउण्डभित्र पानीको समस्या समाधान गर्न डिप बोरिङ खोलिएको रहेछ । पानी आउँदैन, भुक्तानी भएछ । यहीभित्र संसद सचिवालयका कर्मचारीहरुको खाजा भत्ता छ । मर्यादापालक दाजुभाइ, दिदीबहिनीहरुको १२ घण्टासम्म यहाँ ड्यूटी गर्नु हुन्छ । उहाँहरुलाई एक रुपैयाँ पनि भत्ता छैन । यो विभेद, यहीभित्र भएको विभेद, बेथिति, आँखा अगाडिको यो बेथिति हेरिरहँदा चाहिँ लज्जाबोध हुन्छ । सरकार र सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १४:०९
Weather Update