News Griha :: न्यूजगृह
कामनपा २९ का वडाध्यक्षमाथि १२ रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोप, निलम्बन गरी कारबाहीको माग 

काठमाडौं— सामाजिक विकास समाज, अनामनगरले धोबीखोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोज्ने काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकाललाई तत्काल निलम्बन गरी कारबाही अघि बढाउन माग गरेको छ । 

मंगलबार पत्रकार सम्मेलन गरी समाजले उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । वडाध्यक्ष ढकालले साविक बानेश्वर महादेवस्थान वडा नम्बर नम्बर ५ कित्ता नम्बर १४३ को जग्गामध्ये कै स्थानीय समुदायको हितमा प्रयोग हुँदै आएको साविक धोबीखोलाको सरकारी जग्गालाई नक्कली गुठियार र मोही खडा गरी गुठीको नाममा दर्ता गरेको दाबी सामाजिक विकास समितिले गरेको छ ।

झन्डै दुई अर्ब पर्ने धोबीखोलाको १२ रोपनी भन्दा बढी सरकारी जग्गा बिक्री गरी खाने योजनाका साथ सर्जमिन मुचुल्का खडा गरी कालमोचन गुठी शाखा कार्यालय त्रिपुरेश्वरमा दर्ताको लागि २०७७ फागुन ९ गते सिफारिस गरेको आरोपसमेत वडाध्यक्ष ढकालमाथि लागेको छ ।

समाजका अध्यक्ष ओमप्रसाद उप्रेतीले धोबीखोला क्षेत्रको २३ रोपनी सरकारी जग्गा भूमाफियाहरूले बेच्दै हिँडेको भन्दै त्यसको खबरदारी स्वरुप पत्रकार सम्मेलन गर्नुपरेको बताए । उनले सरकारको जग्गा सरकारकै नाममा रहनुपर्ने र स्थानीय सरकार संविधान अनुसार चल्नुपर्ने बताए । उनले भने, ‘स्थानीय सरकार संविधान अनुसार चल्नुपर्छ । स्थानीय सरकारले सार्वजनिक जग्गा संरक्षण गर्ने हो, बेचेर खाने होइन । स्थानीय सरकार तिमीहरू राम्रो काम गर, राम्रो काम गर्नका लागि भोट दिएको हो तर सार्वजनिक जग्गा बेचेर खानका लागि होइन ।’ 
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ११:१७
Weather Update